Logo

व्यवसायीको मनपरीले उपभोक्ता मारमा

बजार अनुगमन सुस्त

जुम्ला -नियमित बजार अनुगमन अभाव र व्यापारी व्यवसायीहरूको मनपरीले उपभोक्ता मारमा परेका छन् । फाटफुट रूपमा गर्ने बजार अनुगमनले समितिले म्याद नाघेका सामान नबेच्न,मूल्य सूचि टाँस्न सुझाव दिएपनि व्यवसायीहरूले अटेरी गरेको पाइएको छ । जसका कारण उपभोक्ताहरू मारमा परेका हुन् ।
जुम्लाका ९५ प्रतिशत खुद्रा पसल,डिलरहरूले मूल्य शुचि टाँसेका छैनन् । गाउँका ग्रामीण बजारमा झन् म्याद नाघेका सामान बेच्ने क्रम बढ्दो छ । सबै स्थानीयतहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति भए पनि बजार अनुगमन प्रभावकारी हुन सकेको छैन । भने, प्रशासन, उद्योग वाणिज्य संघ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले नियमित बजार अनुगमन पनि गरेको छैन् ।
भने,अधिकांश व्यवसाय करदातामा दर्ता नभई सञ्चालन भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले भनिन्, “अखाध वस्तुको बिक्री बढ्दो छ । सदरमुकामबाट गाउँमा अखाध वस्तु पठाउने गरेको पाइयो । उपभोक्ता मारमा छन् हामिले नियमित बजार अनुगमन गरेका छौँ । स्थानीय तहका अनुगमन समिति सक्रिय नहुँदा उपभोक्ता मारमा परेका छन् । गाउ सहर केन्द्रित बजार अनुगमनलाई जोड दिन्छौँ ।”
गएको साता बजार अनुगमन समितिले पातारासी गाउँपालिकाका मुख्य बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्टिम नुडल्स,फेन्टा,स्प्राइट,रिफरेन्स अरेन्ज,रिफ्रेस कोला,चाउचाउ बिस्कुट लगायतका म्याद नाघेका दैनिक उपभोग्य सामान भेटिएको थियो ।
पसलमा ढकतराजु क्यालीब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको,दर्ता नभएको समेत पाइयो । धेरैै पटक सुझाब दिदा पनि व्यवसायीले अटेरी गरेर उपभोक्ता ठगिरहेका छन् । कडा बजार अनुगमन गरी कारबाहि प्रक्रिया अघि बढाईने सहायक प्रजिअ रिजालको भनाइ छ ।

नियमित बजार अनुगमन नहुनु,उपभोक्ता ठग्ने व्यापारी माथि हाल सम्म कारबाहि नभएकै कारण उपभोक्ता मारमा पर्दै गएको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए ।
उनले औपचारिकतामा सिमित बजार अनुगमन नभई परिणाममुखी काम गर्न समेत सुझाव दिएका छन् । स्थानीय तहमा रहेको अनुगमन समितिलाई पनि क्रियाशिल बनाइ स्वच्छ बजार र स्वस्थ उपभोक्ता बनाउन सरोकारवाला सक्रिय हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्