खोटाङका ६ पालिकामा चुनावी गठबन्धन «

खोटाङका ६ पालिकामा चुनावी गठबन्धन

खोटाङ-यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठनबन्धनलाई कायम राख्न सहमत भएका खोटाङका राजनीतिक दलहरू अन्ततः तालमेल गर्न सहमत भएका छन् । आइतबार राति ११ः३० बजे जिल्ला समन्वय समतिको सभा हलमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीको संयुक्त बैठकले निर्वाचनमा तालमेल गर्ने सहमति जुटाएको हो ।
गत चैत १६ गते बसेको गठबन्धन दलको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई कायमै राख्ने निर्णय गरेको थियो । त्यसयता पटकपटक तालमेलबारे छलफल गर्न बैठक बसे बिना निष्कर्ष बैठक स्थगित हुँदै आएको थियो । लामो समयको छलफलपछि आइतबारको बैठकले निर्वाचनमा तालमेल गर्ने सहमति जुटाएको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिए ।
बैठकले पालिकामा गठबन्धन दलबीच हुने तालमेलको मोडालिटी र भागबण्डासमेत टुंगो लगाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ४ पालिकामा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने भएको छ । हलेसी तुवाचुुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कांग्रेस एक्लै लड्ने भएको हो । यी पालिकामा गठबन्धनमा आबद्ध कांग्रेसबाहेकका अन्य तीन दलले अलग्गै उम्मेद्वार उठाएर तालमेल गर्ने सहमति भएको छ । हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादीका प्रमुख र उपप्रमुख, साकेला गाउँपालिकामा माओवादीका अध्यक्ष र जसपाका उपाध्यक्ष, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका अध्यक्ष र जसपाका उपाध्यक्षलाई कांग्रेसबाहेकका दलले एकअर्कालाई सघाउने भएका हुन् ।
अन्य ६ पालिकामा भने चार दलबीच नै गठबन्धन कायम भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी, ऐँसेलुुखर्क, खोटेहाङ, वराहपोखरी र जन्तेढुंगा गाउँपालिकामा चार दल नै एक ठाउँ उँभिने भएका हुन् । चार दलबीच गठबन्धन हुने ६ पालिकामध्ये तीनमा कांग्रेस र तीनमा माओवादीले प्रमुखको उम्मेद्वार पाउनेछन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख, वराहपोखरी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख, ऐँसेलुखर्क र जन्तेढुंगा गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख र खोटेहाङ गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पदको उम्मेद्वार दिने गठबन्धन दलले सहमति गरेका छन् ।
कुन पालिकामा कसलाई उम्मेद्वार उठाउने र वडाहरूमा कहाँ कसरी तालमेल र भागबण्डा गर्ने भन्ने विषय भने छलफलकै क्रममा रहेको गठबन्धन दलका नेताले बताएका छन् ।

पवन खड्का

प्रतिक्रिया दिनुहोस्