नेकपामा मेरो प्रभाव बढेपछि षड्यन्त्र सुरु भयो : प्रचण्ड «

नेकपामा मेरो प्रभाव बढेपछि षड्यन्त्र सुरु भयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताएका छन् ।
बिहीवार ललितपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले तत्कालीन नेकपामा रहेका पूर्व एमालेका ८० प्रतिशत नेताहरुले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह शुरु भएको बताए । अध्यक्ष दाहालले तत्कालीन नेकपामा पूर्व एमालेका अधिकांश नेताहरुले अबको नेता प्रचण्ड भन्न थालेपछि पार्टी फुटाउने षड्यन्त्र भएको पनि बताए ।
उनले नेकपामा रहँदा माओवादीको पंक्ति ठूलो भइदिएको भए पार्टी कब्जा माओवादीले गर्ने पनि बताए । अध्यक्ष दाहालले अझै पनि नेकपा एमालेमा रहेका अधिकांश नेताहरु समाजवादी क्रान्तिका लागि तयार इमान्दार कम्युनिष्ट रहेको र उनीहरुको नेतृत्व पनि आफूले गर्नुपर्ने बताए । उनले नेकपा एमालेको नेतृत्वले पार्टीका नेताहरुलाई प्रतिक्रान्तीकारी र प्रतिगमनका बन्दी बन्न बाध्य बनाएको आरोप पनि लगाए ।
अध्यक्ष दाहालले भने, ‘हामीले नेकपा एमालेसँग एकता गरेका थियौँ । के विश्वासमा गरेको थियो भने अब तत्काल भूमिगत जाने, जनयुद्ध गर्ने र विद्रोह गर्ने स्थिति छैन । त्यो अवस्थामा हिजो एउटा चरण त हामीभन्दा चर्को क्रान्तिकारी कुरा गर्ने, झापा विद्रोह । माले कालका थुप्रो नेता, कार्यकर्ता त्यहाँ छन्, अहिले पनि समाजवादतिरै जाने हो भन्ने पनि छन् भने हामी किन ध्रुविकृत नहुने भनेर गरियो । त्यो पनि अरुले गरेका भएन, तपाईहरुलाई प्रचण्डले के के गर्छ गर्छ भन्ने भएको थियो होला, तर जसरी एकताकेन्द्र बनाउँदा जोखिम उठाउन खोजिएको थियो । त्यो एकताबाट कम्युनिष्टहरुलाई सबैलाई एक ठाउँमा राखेर समाजवादतिर लानुपर्छ र सकिन्छ भन्ने विश्वासले हामीले नै अझ मेरो नै प्रश्तावमा काम अघि बढेको थियो । त्यो कतिबेला दुर्घटनामा प¥यो भने जतिबेला एमालेभित्रको ठूलो तप्काले माओवादी आन्दोलनको ऐतिहासिकता स्वीकार्न थाल्यो, माओवादी जनयुद्धकै कारण नेपालमा उत्पीडित, जाती, वर्ग, क्षेत्र, समुदायले जागरण ल्याएको हो ।’
अध्यक्ष दाहालले देशभित्र र बाहिर प्रतिगमनकारी तत्वले माओवादीको उपलब्धीलाई नष्ट गर्न खोजिरहेको पनि आरोप लगाए । उनले माओवादीका उपलब्धिलाई सुरक्षित गर्न सबै माओवादी एकत्रित भएर लड्नुपर्ने बेला आएको बताए । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुको रणनीति अहिले पनि माओावदीलाई घेरा हालेर सखाप पार्ने रहेको भन्दै त्यसलाई परास्त गर्न माओवादीले सबै माओवादीलाई एकजुट पार्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाएरु अघि बढ्ने बताए । अध्यक्ष दाहालले सबै माओवादीहरु एकतावद्ध भएर नै संविधानको रक्षा र प्रतिक्रियावादीहरुलाई परास्त गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्