विप्लवसँग वार्ताको लागि ढोका खुल्ला: प्रमुख सचेतक गुरुङ «

विप्लवसँग वार्ताको लागि ढोका खुल्ला: प्रमुख सचेतक गुरुङ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक एवम् स्थायी समिति सदस्य देव गुरुङले नागरिकता विद्येयक संसदमा छलफलकै क्रममा रहेकोले अहिल्यै नै टिकाटिप्पणी गर्न नहुने स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख सचेतक गुरुङले नागरिकता विद्येयक संसदमा छलफलकै क्रममा भएकोले अहिले टिकाटिप्पणी गर्न नहुने स्पष्ट पारेका हुन् । उनले भने,‘संविधानले परिकल्पना गरेअनुसार नागरिकता ऐन संशोधन गरेर सदनमा ल्याईएको छ । अहिले छलफलमै भएकोले यसबारेमा टिकाटिप्पणी गर्न चाहन्न् ।’
गुरुङले वर्तमान सरकारले सुधारउन्मुख काम गरिरहेको विश्वास दिलाए । उनले भने,‘सरकारको काम सुधारउन्मुख छ । सरकारप्रति जनताको आशा र अपेक्षा धेरै हुनसक्छ, अहिलेको परिस्थिति हेर्दा सुधारउन्मुख नै रहेको देखिन्छ ।’ अहिले आमूल परिवर्तनको अपेक्षा गर्ने खालको परिस्थिति नभएको उनको भनाई छ ।
उनले भने,‘अहिलेको परिस्थितिमा जे÷जति कामहरु भैरहेका छन्, सकारात्मक छन् । संविधानअनुसार नै कामहरु भैरहेका छन् ।’ त्यस्तै उनले पार्टीका तल्लो तहमा पनि छिट्टै एकता टुँगो लगाउने विश्वास दिलाए ।
फरक प्रसँगमा नेता गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहको गतिविधि नियन्त्रणको लागि सरकारले प्रतिबन्धको कुरा गरेको स्पष्ट पारे । उनले भने,‘कुनै व्यक्ति, समूह वा पार्टीको गैरकानूनी गतिविधि हुन्छ भने त्यसलाई राज्यले नियन्त्रण गर्छ । संविधानले दलमाथि प्रतिबन्ध गर्ने कुरा स्विकार गरेको छैन् ।’
गुरुङले विप्लव समूहलाई वार्तामा आउन आह्वान गरे । उनले भने,‘सरकारले वार्ताको ढोका खुल्ला राखेको छ । मुलुकको स्वाधिनताको रक्षा र आत्मनिर्भर अर्थनीतिको लागि स्थिरता र स्थायित्व आवश्यक छ ।’ हिजोको र आजको अवस्थामा फरक रहेको सुनाउँदै उनले एकतावद्ध भएर अघि बढ्नुपर्ने सुझाए । उनले सरकारले निषेधको राजनीति नगर्ने पनि स्पष्ट पारे ।
मुलुकलाई अहिलेपनि आन्तरिक द्वन्द्वमा फसाउने तत्वहरु उद्धत रहेकोले त्यसतर्फ सचेत रहँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको धारणा छ । उनले भने,‘त्यसैले मुलुकलाई द्वन्द्वमा फसाउनेतर्फ होईन, यदि मतभेद छन् भने समझदारी कायम गरेर अघि बढ्नुपर्छ । संविधानअनुसार नै समस्याको हल गर्नुपर्छ ।’
सरकारको काम र दायित्व भनेको गैरकानूनी काम गर्न नदिनु र नियन्त्रण गर्नु भएकोले आफ्नो दायित्व पूरा गरेको गुरुङले स्पष्ट पारे । उनले भने,‘सरकारले पेलेर होईन, संविधानअनुसार नै आफ्नो कदम चाल्छ । त्यहीअनुसार जानुपर्छ ।’ मुलुकको राष्ट्रियता र स्वाधिनतामा आँच पुर्याउने काम कसैबाटपनि हुन नहुने उनको भनाई छ ।
आफ्नो एक साताको चीन भ्रमण फलदायी भएको पनि उनले जानकारी दिए । उनले भने,‘चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले बोलाएर हामी सद्भाव भ्रमणमा गएका थियौं । भ्रमण फलदायी रह्यो ।’

प्रतिक्रिया दिनुहोस्