Logo

माओवादी विजयी हुनु राष्ट्रले जित्नु हो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको संघर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नैपर्ने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा उनले माओवादीले लडेर ल्याएको उपलब्धि रक्षाको जिम्मा माओवादीको काँधमा नै आएको बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीले लडेर ल्याएको हो, यसको रक्षा गर्ने दायित्व माओवादीको नै हो,’ अध्यक्ष दाहाले भने, ‘अरुका लागि चुनाव हो, तर हाम्रो लागि निर्वाचन लडाइँ हो ।’ निर्वाचनको समय नजिक आइसकेको भन्दै उनले निर्वाचन भीषण तयारीमा लाग्न आग्रह गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्र आफूहरूले लडेर ल्याएको भन्दै अध्यक्ष दाहालले त्यसको वास्तविक माया माओवादीलाई मात्र भएको बताए । ‘अन्य दललाई परिवर्तनको माया छैन, हामी यही व्यवस्थाबाट जनताको समृद्धि होस् भन्नेमा छौं,’ उनले भने । फरक प्रसंगमा अध्यक्ष दाहालले कैलाली जिल्लामा माओवादी प्रवेशको लहर चलेको र २०६४ सालको नतिजा फर्कने सम्भावना प्रवल भएको बताए । नेत्र विक्रम चन्दको पार्टी नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पनि माओवादी प्रवेश गर्ने तयारीमा रहेको जानकारी दिँदै उनले कैलालीमा आफ्नो पार्टी पहिलो शक्ति हुने दाबी गरे ।
कार्यक्रममा संघीय समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण चौधरीलगायत नेकपा (एमाले) कैलाली र सोलुखुम्बुका सयौँ नेता कार्यकर्ता माओवादी प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्