मन्त्री बलायर र महासंघ प्रतिनिधिमण्डलबीच भेट

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरलाई भेटी व्यवसायीका समस्या समाधान गर्न ध्यानाकर्षण गराएको छ ।
महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले बजेट निकासा नहुँदा, भुक्तानी रोकिँदा र निर्माण सामग्रीमा चर्को मूल्यवृद्धि भएका कारण व्यवसायी समस्यामा परेको भन्दै समाधानका लागि मन्त्री बलायरको ध्यानाकर्षण गराएको हो । महासंघले विगत केही साताअघिदेखि इन्धन, फलाम, सिमेन्ट, डण्डी, गिटी र बालुवाजस्ता सामग्रीमा अप्रत्याशित मूल्यवृद्धि भइरहेकाले देशभर क्रियाशील निर्माण व्यवसायी पीडित भएकोतर्फ मन्त्री बलायरको ध्यानाकर्षण गराएको छ ।
देशको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने गरी भएको मूल्यवृद्धि अविलम्ब बिनाशर्त फिर्ता गर्न मन्त्री बलायरसमक्ष महासंघले माग गरेको छ । यसैबीच सडक विभागअन्तर्गत आव्हान भएका विभिन्न निर्माणकार्य सम्बन्धित निर्माण व्यवसायीले समयमै काम सम्पन्न गरे पनि विभिन्न मन्त्रालयबाट बजेट निकासा नभएकाले व्यवसायीहरूले भुक्तानी पाउनु पर्ने झण्डै ३० अर्बभन्दा बढी रकम हालसम्म भुक्तानी नभएको महासंघले मन्त्री बलायरलाई जानकारी गराएको छ ।
महासंघले बिहीबारै भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीलाई पनि समस्याका बारेमा जानकारी गराएको छ । साथै अर्थ मन्त्रालय बजेट महाशाखाका सहसचिव निर्मलहरि अधिकारीलाई पनि भेटी महासंघले रकम निकासका लागि पहल गर्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलमा अध्यक्ष श्रेष्ठसँगै उपाध्यक्षद्वय रुद्र शर्मा, भीमबहादुर साउद, प्रवक्ता विष्णु बुढाथोकी, महासंघ सदस्यद्वय सरस्वती कार्की, लक्ष्मी बस्नेत, कार्यालय प्रमुख प्रेमसिंह ऐरलगायत सहभागी थिए ।