Logo

चितवन खेल क्षेत्रको केन्द्र बन्दैछ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने बताएका छन् । प्रज्ञा स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथुन, २०७८ को समापन समारोहमा उनले खेल क्षेत्रलाई सबैले प्रेरित गर्नुपर्ने बताएका हुन् ।
दाहालले चितवन सबै दृष्टिकोणले खेल क्षेत्रको केन्द्र बन्दै गइरहेको बताए । उनले भने, ‘निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र अन्य इन्डोर खेलको पूर्वाधार निर्माणले यसको सम्भावनालाई उजागर गरेको छ ।’ निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको बाँकी काम पूरा गर्नेगरी सहमति कायम भई प्रक्रिया अगाडि बढिरहेको उनले बताए । साइकल परापूर्वकालदेखि मानव जीवनको अभिन्न अंगका रूपमा रहेको भन्दै उनले पछिल्ला दिनमा साइक्लिङ खेलको रूपमा समेत विकास भएकोमा खुसी व्यक्त गरे । पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले प्रज्ञास्मृति प्रतिष्ठानले सुन्दरनगरी भरतपुरमा साइक्लिङ म्याराथुन गरेर अनुकरणीय काम गरेको बताए ।
प्रतियोगितामा तीन घण्टा २३ मिनेटमा ६५ किलोमिटर पूरा गरी मेरिना राना मगर प्रथम भइन् भने सुधा तिमिल्सिनाले ४ घण्टा १२ मिनेट १३ सेकेण्डमा ६५ किमी पार गरी दोस्रो स्थान हासिल गरिन् । त्यस्तै पुरूषतर्फ दुई घण्टा १२ मिनेट १९ सेकेण्डमा ६५ किमी पूरा गरी सन्दीप श्रेष्ठ प्रथम र त्रिभुवन आर्मी क्लबबाट दीपेश चौधरी दोस्रो बने । प्रतियोगितामा चितवनसहित ११ जिल्लाका खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्