नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने एडीबीको प्रक्षेपण

कृषि क्षेत्रको वृद्धि आर्थिक वर्ष सन् २०१८ को २.८ प्रतिशतबाट आर्थिक वर्ष सन् २०१९ मा ४.५ प्रतिशत पुग्न सक्ने एडीबीको प्रक्षेपण छ ।
एसियाली विकास बैंक (एडीबी) ले नेपालको अर्थतन्त्रको वृद्धिदर चालू आर्थिक वर्ष २०७५-७६ अर्थात् सन् २०१९ मा ६.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले बुधबार सार्वजनिक गरेको म्याक्रोइकोनोमिक अपडेटले चालू वर्षमा ६.२ प्रतिशत रहने तथा आगामी वर्ष २०७६-७७ अर्थात् सन् २०२० मात्र ६.३ प्रतिशतले वृद्धि हुने जनाएको छ । गत आर्थिक वर्ष अर्थात् सन् २०१८ मा वृद्धिदर ६.३ प्रतिशत थियो । एडीबीले सन् २०१९ मा मुद्रास्फिति ४.४ प्रतिशत रहने अनुमान गरेको छ । एडीबीको नेपालका लागि आवासीय निर्देशक मुख्तोर खामुद्खानोभले सबल आन्तरिक मागका आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख रहेको र भूकम्पपछिको तीव्र पुनर्निर्माण एवं प्रदेश र स्थानीय सरकारहरूलाई ठूलो परिमाणमा बजेट विनियोजनले मद्दत पु-याएको बताए । “वित्तीय संघीयताको निर्वाध कार्यान्वयनका चुनौतीहरू समाधान गर्न नसकेको खण्डमा र वित्तीय अनुशासन पालना नभएको अवस्थामा, यस आर्थिक परिदृश्यमा जोखिम आउन सक्छ । यी चुनौतीलाई सम्बोधन गर्न सके नेपालले लामो अवधिसम्म उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नसक्ने सम्भावना छ,” उनले भने ।
पेट्रोलियम पदार्थ र अन्य उत्पादनको आन्तरिक माग बढ्ने र कमजोर निर्यात प्रतिस्पर्धात्मक क्षमताका कारण चालू वर्षमा व्यापार घाटा वृद्धि भई कुल गाहस्र्थ उत्पादन (जीडीपी) को ८.२ प्रतिशतबाट ९.३ प्रतिशत पुग्ने अनुमान छ । कृषि क्षेत्रको वृद्धि आर्थिक वर्ष सन् २०१८ को २.८ प्रतिशतबाट आर्थिक वर्ष सन् २०१९ मा ४.५ प्रतिशत पुग्न सक्ने एडीबीको प्रक्षेपण छ । यो आँकलन मनसुन राम्रो हुँदा धानको उत्पादन अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले वृद्धि भई ५५ लाख टन पुग्ने छ । सुदृढ विद्युत् आपूर्ति र लगानीको वातावरणमा सुधारका प्रयत्नका कारण चालू वर्षमा औद्योगिक क्षेत्र ७.१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । यसका साथै थोक तथा खुद्रा व्यापार, होटेल र रेस्टुरेन्ट तथा वित्तीय सेवामा चालू वर्षमा सेवा क्षेत्र ६.४ प्रतिशतले बढ्न सक्ने सम्भावना रहेको एडीपीको अपडेटले देखाएको छ ।
प्रतिवेदनले भारतमा मुद्रा स्फीति केही उच्च रहने, पेट्रोलियम पदार्थको मूल्य स्थिर रहने र नयाँ संघीय संरचनाअन्तर्गत सरकारी खर्च उच्च रहने कुरालाई प्रतिविम्बित गर्दै चालू वर्षमा मुुद्रास्फिति आर्थिक वर्ष सन् २०१८ को ४.२ प्रतिशतबाट बढेर ४.४ प्रतिशतमा पुग्ने अनुमान एडीबीले गरेको छ ।
उच्च आयात र कर प्रणालीमा सुधारका आधारमा प्रारम्भिक रूपमा राजस्व संकलन बढेको अपडेटले देखाएको छ । सवल राजस्व वृद्धिका कारण चालू वर्षको पहिलो ६ महिनामा बजेट बचतमा छ । आर्थिक वर्षको पहिलो ७ महिनामा पुँजीगत खर्च बढे पनि यसको कार्यान्वयन भने २२.५ प्रतिशतमात्र रहेको छ । जसले गर्दा फेरि पनि आयोजनाहरूको गुणस्तरमा नजर अन्दाज हुने र आर्थिक वर्षको अन्तिम महिनामा मात्र खर्च गर्ने प्रवृत्ति हाबी हुने प्रतिवेदनमा उल्लेख छ ।
बढ्दो व्यापार तथा चालू खाता घाटासँगै नेपालले बाह्य क्षेत्रको अस्थिरताको बढ्दो जोखिमको सामना गर्नु परेको उल्लेख गर्दै चालू वर्षमा माघसम्मको तथ्यांकले चालु खाता घाटा १.५ बिलियन अमेरिकी डलर पुगेको देखाएको छ । सन् २०१९ मा सोही अवधिको चालू खाता घाटा १.४ विलियन अमेरिकी डलर थियो । विप्रेषण आम्दानीको राम्रो वृद्धि र पेट्रोलियम पदार्थको मूल्य स्थिररहे पनि पुँजीगत र उपभोग्य वस्तु तथा सेवाको आयात बढ्नाले अघिल्लो वर्षको जीडीपीको ८.२ प्रतिशतबाट बढेर चालू वर्षमा चालु खाता घाटा ९.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
नेपालका लागि एडिबीका अर्थशास्त्री मानवरसिंह खड्काले नेपालको अर्थतन्त्रमा सेवा क्षेत्रको बढ्दो महत्वलाई दृष्टिगत गर्दै सेवा क्षेत्रमा निर्यात विविधीकरणमार्फत व्यापार घाटा कम गर्न स्पष्ट कार्ययोजनाहरू ल्याउन आवश्यक देखिएको बताए । “सेवा क्षेत्रको प्रवद्र्धनका निम्ति पूर्वाधारगत, संस्थागत र प्रक्रियागत व्यवधानहरू समाधान गर्न जरुरी देखिन्छ,” उनले भने ।