न्यायिक समितिले निष्पक्ष न्याय दिनुपर्छः राष्ट्रपति भण्डारी

पोखरा- राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समूहको दबाबबाट माथि उठेर न्याय दिनुपर्ने बताएकी छन् । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सोमबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले न्यायिक समिति कुनै समूह तथा व्यक्तिबाट प्रभावित नभई पीडितको पक्षमा उचित न्याय दिलाउनु पर्ने बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले न्यायिक समितिले पीडित सर्वसाधारणलाई न्याय दिलाउनु नै न्यायिक समिति लोकतन्त्र र सभ्यताको बाहक भएको बताइन् । न्याय माग्नेलाई न्याय दिने र पीडकलाई दण्ड र जरिवाना गर्ने कुरा चानचुने कुरा नभएकाले यसमा गाम्भीर्यता जरुरी रहेको उनको भनाइ थियो । कार्यक्रममा केही सहभागीहरुले न्यायिक समितिको क्षेत्राधिकार बढाउनुपर्ने माग गरेको विषयलाई अब सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानले दिएको अधिकारलाई भरपूर्ण रुपमा प्रयोग गरी न्यायिक समितिले काम गर्नुपर्ने बताए । न्यायिक समितिलाई हाल सिमित क्षेत्राधिकार किटान गरेकाले सोअनुसार न्याय सम्पादन गर्न उनले सुझाव दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले न्यायिक समितिको क्षेत्राधिकार सहित श्रोत र साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीस डिल्लीराज आचार्यले न्यायिक समितिलाई श्रोत र साधनको अभाव हुनुका साथै क्षमता अभिवृद्धि र समर्पणको खाँचो भएको बताए ।
जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गिलालले न्यायिक समिति पछिल्लो बर्षमा थप प्रभावकारी हुँदै आएको बताए । सम्मेलनमा देशभरका न्यायिक समितिका प्रमुखहरु तथा अन्य सदस्यहरुको सहभागिता रहेको छ । आयोजक पोखरा महानगरपालिका न्यायिक समितिकी प्रमुख मञ्जुदेवी गुरुङका अनुसार देशभरका करिब ७ सय जना न्यायिक समितिका प्रमुख तथा सदस्यहरुको सम्मेलनमा सहभागिता रहेको छ ।