एनआरएनएलाई अधिकारसहित नागरिकता «

एनआरएनएलाई अधिकारसहित नागरिकता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दसौं विश्व सम्मेलन शनिबार काठमाडौंमा सुरु भएको छ । सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा रहेपनि नेपालको समृद्धिमा हातेमालो गर्ने गैरआवासीय नेपालीलाई सम्मान गर्न नागरिकताको कानुनी प्रक्रिया पूरा हुने बताइन् ।
उनले भनिन्, “नेपालबाट भौतिक रुपमा टाढा रहेर पनि नेपालको समृद्धिमा सहकार्य गर्ने गैरआवासीय नेपालीले पाएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई कानुनी मान्यता दिने काम भइरहेको छ । भूकम्पपछि नेपालको पुनर्निर्माणमा सहयोग गरेर गैरआवासीय नेपालीले सराहनीय काम गर्नुभएको छ ।” उनले विदेशमा रहेका नेपालीहरुलाई नेपालको सांस्कृतिक दूतको रूपमा पर्यटन प्रवद्र्धन गर्न समेत आह्वान गरेकी छिन् ।
उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिँदै गृहमन्त्री बालकृष्ण खाँडले आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै हाल देखिएको विवादलाई मिलाएर सहमतिका आधारमा एक भएर अघि बढ्न सुझाव दिए । उनले विदेशमा रहेका नेपालीले देश निर्माण गर्ने सपना पूरा गर्न सीप, पुँजी र प्रविधि लगानीमा सरकारले पूर्ण रुपमा सहयोग गर्ने बताए । सो अवसरमा संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीले भूकम्प र कोरोना संक्रमण जस्ता विपतमा संघको पहलमा नेपाल र नेपालीका लागि तत्काल सहयोग गर्न सकिएको स्मरण गराए । उनले भूकम्पपछि पुनर्निर्माणमा हातेमालो गर्न संघले लाप्राक बस्ती निर्माण गरेर हस्तान्तरण समेत गरिसकेको जानकारी दिए । अध्यक्ष पन्तले संघ अब युवा अवस्थामा प्रवेश गरेका कारण केही मतभेद हुने भए पनि सबै एक भएर अघि बढ्ने बताए ।
सो अवसरमा संघका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनए नेपाल र नेपाली जनताले सधै माया र आदर्श मानेको संस्था रहेको बताउँदै विगत केही दिनदेखि भएका घटनाक्रमले भने राम्रो संकेत नगरेको बताए । “मैले देखेको एनआरएनएको पनि विभिन्न चरण छ । कुनै समय थियो, जतिबेला एनआरएनएमा चुनाव नै हुँदैनथ्यो । त्यसपछि अर्को चरण आयो, जहाँ चुनाव हुन्थ्यो,” उनले भने । आजको यो समय भनेको परिवर्तनको समय भएको जनाउँदै उनले संस्था ठूलो हुँदै जाँदा परिवर्तन हुनु र केहि विवाद हुनु पनि स्वाभाविक नै भएको धारणा राखे । उनले यो सम्मानित संस्था अब फेरि एकपटक रोलमोडलकै रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै शंकाको बादल हटेर छिट्टै फेरि आत्मविश्वास तथा गर्वका साथ सम्मानित संस्थाकै रुपमा परिचित हुने बताए ।
सो अवसरमा संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघ संस्थापना भएको १८ वर्ष पूरा भइरहेका बेला संस्थाभित्र वैचारिक मतभेद देखिएपनि नेपालमा रहेका नेपाली र गैरआवासीय नेपालीले संकल्प गरेर छोटो समयमा देशलाई समृद्ध बनाउन सकिने बताए । नेपालमा लगानी गर्न विदेशीको मुख ताक्ने भन्दा पनि हामी आफैंले लगानी गरी अघि बढाउनुपर्ने उनको सुझाव छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले गैरआवासीय नेपालीले विदेशमा हासिल गरेको सीप, प्रविधि र पुँजीलाई सहज लगानीको बाटो बनाउन सरकारसँग अनुरोध गरे । उनले नेपालमा लगानी गर्ने गैरआवासीय नेपालीलाई महासंघले आवश्यक सहयोग गर्ने बताए ।
एनआरएनएका पूर्वअध्यक्ष एवं संरक्षक जिवा लामिछानेले गैरआवासीय नेपाली संघले संसारका सबै कुनाका सबै नेपालीलाई समेट्न नसकेको भएपनि हरेक देशमा संगठन नेपालीहरूको सबैभन्दा ठूलो, प्रभावशाली र समुदायको साझा चौतारी जस्तो संगठन बनेको स्वीकारोक्तिमा कुनै अत्युक्ति नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्