अरुको सहारामा चुनाव जित्ने नसोचौं : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन् । बुधबार काठमाडौंमा भएको पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका हुन् ।
उनले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्नु नहुने बताए । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको मान्छेलाई मात्रै उम्मेदवारीमा उठाउनुपर्ने बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीमा रहेका मन्त्रीदवय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गएको कुरा झुटो भएको दाबी गरे ।
उनले अध्यक्ष ओलीका साइबर सेनाहरुले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताए । अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्ष ओलीका अपराधहरुलाई जम्मा गरेर जनतासमक्ष लैजाने पनि बताए । उनले केपी ओली झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने आरोप लगाए । अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसीसी परियोजनामार्फत नेपाललाई इण्डोप्यासिफिकको अंग बनाउने कुरा ल्याएको आरोप लगाए । उनले आफूले त्यसको विरोध गरेपछि अहिले अमेरिकाले इण्डोप्यासिफिकको अंग बन्ने कुरा काटेको बताए । अध्यक्ष नेपालले अध्यक्ष ओलीको विचारमा क्रान्तिकारीता नभएको आरोप लगाउँदै दक्षिणपन्थी अवसरवादसँग ओली रहेको बताए ।
अध्यक्ष नेपालले तत्कालीन नेकपामा ओलीले दाउपेच खेलेपछि आफूले पनि राजनीतिक दल विभाजनसम्बन्धी विधेयकमा २० प्रतिशतमा झारेर पार्टी दर्ता गराएको बताए । उनले केपी ओली १४ वर्षसम्म जेल बसेको र १४ वर्षपछि केन्द्रिय कमिटीमा आएको भन्दै फुर्ति नदेखाउन चेतावनी दिए । अध्यक्ष नेपालले आफ्नो पार्टी सानो दुःखले आर्जेको पार्टी नभएको भन्दै आफ्नो पार्टीलाई हेपेको सहन नसक्ने बताए । फरक प्रसंगमा अध्यक्ष नेपालले नेपालको नेपालको शिक्षा, स्वास्थ्य लगायतका धेरै क्षेत्रमा परिवर्तन आवश्यक रहेको बताए। अध्यक्ष नेपालले सबै गठबन्धन मिलेर चुनावमा प्रतिष्पर्धा गरेमात्रै नेकपा एमालेलाई पराजित गर्न सकिने बताए । अध्यक्ष नेपालले ओलीलाई विदेशीको आड रहेको आरोपसमेत लगाए ।