यो गठबन्धन रहरले बनेको होइन, तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : पाण्डे

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने बताएका छन् । उनले भने,‘गठबन्धन हामीले रहरले बनाएको होइन् । यो बाध्यता हो । गठबन्धनको कुरा गर्नुभयो भने यो प्राक्टिस धेरै पहिलेदेखि नै गरेका छौं । बहुदल ल्याउन र २०६२, ०६३ को जनआन्दोलनमार्फत परिवर्तन पनि गठबन्धनकै बलमा भएको हो ।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पाण्डेले स्पष्ट बहुमतसहित देशको नेतृत्व गर्नको लागि पनि जनताले कांग्रेस र नेकपालाई साथ दिएको स्मरण गराए । तर, दुवै सरकारले पूरा कार्यकाल सरकार सञ्चालन गर्न नसकेको उनको गुनासो थियो ।
साक्षात्कारमा बोल्दै पाण्डेले भने, ‘यो देशले बहुमत दिएकै हो, दुई तिहाईको सरकार सञ्चालनको अवसर पाएका थियौं । तर, हामीले यो सरकारलाई थाम्न सकेनौं । ओलीले देश र पार्टीको जिम्मेवारी लिनुभएको थियो । तर, दुईतिहाइको मत बीचमै खण्डित भयो । सरकार र पार्टी सञ्चालन गर्ने विधि, अत्यन्तै अराजनीतिक, अप्रजातान्त्रिक तरिकाले बढ्दै गए ।
संविधानमै व्यवस्था नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने काम पनि भयो । त्यो पनि दुई दुई पटक संसद् विघटन भयो । संविधान मिचियो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न र संविधान बचाउनको लागि यो गठबन्धन बनाएका हौं ।’
उनले वर्तमान गठबन्धन समयले माग गरेको पनि दाबी गरे । उनले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन हुने नै दाबी गरे । उनले भने, ‘रणनीति र आवश्यकत्ता के पर्छ ? त्यो आफ्नो ठाउँमा छ । अहिले चुनावमा तालमेल र गठबन्धन गर्नेबारे छलफल भएको छ । बालुवाटारमा भएको छलफल थाहा पाईसकेका छौं ।
६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको उम्मेद्धवार केन्द्रबाट टुँगो लगाउने कुरा भएको छ । यो कुरा पनि उठिरहेको छ । हामी आपसी सहमति र सल्लाहबाट यो कुरा टुँगो लगाउँछौं ।’
प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन कायम हुने पाण्डेको दाबी छ । उनले थपे–‘यो गठबन्धनलाई कायम राख्न जरुरी छ। नेपाली जनताको भावनाअनुसार राजनीतिक स्थिरता ल्याउनको लागि गठबन्धन तोड्न हुँदैन् । यो गठबन्धन टुट्दैन् । गठबन्धन टुट्छ कि भनेर कसैले द्धिविधा नराखे हुन्छ। कांग्रेसका केही नेताहरूले तुच्छ शब्द बोलेको पनि सुनेको छु ।’
डा. रणबहादुर रावलले अहिले पनि पाँच दलीय गठबन्धनको आवश्यकत्ता रहेको भन्दै निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताए ।
उनले भने, ‘स्थानीय तहको निर्वाचनको सम्बन्धमा गठबन्धन गर्नेबारे शीर्ष नेताहरूबीच हिजो छलफल भयो । गठबन्धनको महत्वको कुरा, गठबन्धन गर्नुपर्ने आवश्यक किन पर्यो त, यो जान्नुपर्ने हुन्छ । ओली सरकारले संविधान नै धुजाधुजा पारेको थियो ।
त्यही भएर हामीले संविधान जोगाउन यो पाँच दलीय गठबन्धन बनाएका हौं । संविधान बचाउनुपर्ने र लोकतान्त्रिक मूल्य र मान्यता बचाउनुपर्ने भएकोले हाम्रो सभापति शेरबहादुर देउवाले नेतृत्व लिएका हुन् ।’
यो गठबन्धन किन आवश्यक थियो ? भन्ने कुरा पनि सबैले बुझ्नुपर्ने उनको भनाई छ । उनले भने,‘लोकतन्त्र र संविधान बचाउन यो गठबन्धन बनेको हो। क्षणिक स्वार्थको लागि यो गठबन्धन बनाईएको होईन । कांग्रेसको कुरा गर्दा सबै ठाउँमा एक्लै चुनाव लड्ने चाहना छ। तर, गठबन्धनलाई नै जोडेर कांग्रेस जान चाहन्छ । गठबन्धनको नीति र विधि के हो भने, राष्ट्रियस्तरमा क्राईट एरिया बनाउनुपर्छ । गठबन्धनका उम्मेदवारलाई सबैले साथ दिनुपर्छ ।’
उनले गठबन्धन गरेपछि विश्वासका साथ सबै दल अघि बढ्नुपर्ने पनि विश्वास दिलाए । उनले भने,‘गठबन्धन गरेपछि त्यसको मर्म र भावनाअनुसार जानुपर्छ । पार्टीको केन्द्रिय कार्यसमितिले गर्ने निर्णय हामी आत्मसात् गर्न तयार छौं ।’
यद्धपी उनले गठबन्धनमा पनि चूनौति रहेको उल्लेख गरे । उनले भने,‘सुदूरपश्चिम प्रदेशमा अहिले माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । म त्यहाँ आफ्नो पार्टीको संसदीय दलको नेता हुँ । सुदुरपश्चिमको सरकारको कुरा गर्दा गम्भीर समस्या छ । बास्तवमा त्यहाँ दुई दलको मात्रै गठबन्धन छ। अरु दलसँग सहकार्य र समन्वय पनि छैन् । समग्रमा कांग्रेसले जे निर्णय गर्छ, त्यो लागु गर्न हामी तयार छौं । गठबन्धन हुन्छ। चूनौती छन्, तर त्यसलाई आत्मसात् गर्दै हामी चुनावमा जान्छौं ।’
हिमाल शर्माले अहिलेपनि नेपाली राजनीतिमा सहमति, सहकार्य र एकता हुने कुरा स्वभाविक नै भएको बताए । सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गर्नेबारे सकारात्मक रुपमा छलफल चलिरहेको उनको भनाई छ । उनले भने, ‘गठबन्धन कुनै पार्टीको माया र दयाले हुने कुरा होइन ।’
नेता शर्माले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी गठबन्धन गर्नेबारे कोसिस भइरहेको सुनाए । उनले भने,‘चुनावी गठबन्धनको सवालमा केन्द्रले नै माथिबाट लादेर वा निर्णय गरेरमात्रै पुग्दैन्, स्थानीय तहमा गबठन्धन गर्न बाटो फुकाई दिनुपर्छ ।
हामीले माथिबाट स्पष्ट पार्नुपर्नेपनि हुन्छ । गठबन्धनका दलहरूले निर्वाचनमा गठबन्धन गर्ने कुरामा यसको औचित्य र आवश्यकताबारे प्रकाश पार्नुपर्छ । यस्तो भयो भने तल्लो तहमा कार्यकर्ताबीच हार्मोनी हुन्छ ।’
उनले अहिले चुनावी गठबन्धनको लागि राम्रो वातावरण बन्दै गएको आफूले ठानेको पनि सुनाए । उनले भने, ‘चुनावी गठबन्धन त कतिपय ठाउँमा हुनसक्छ, कतिपय ठाउँमा नहुन पनि सक्छ । गठबन्धन कसरी गर्ने भन्नेबारे धारणा र नीति प्रष्ट हुनुपर्छ ।
चुनावमा पाँच दलीय गठबन्धन आवश्यक छ भन्ने निश्कर्ष आएपछि, सोहीअनुसार जानुपर्छ । महानगरपालिकाको हकमा केन्द्रबाट निर्णय हुन्छ। नगरपालिका र गाउँपालिकामा भने तल्लो तहबाट नै निर्णय हुन्छ ।’
उनले आवश्यक पर्यो भने आफ्नो पार्टीले चितवनको भरतपुर महानगरपालिका गठबन्धनको लागि छोड्न तयार रहेको पनि सुनाए । उनले भने, ‘पहिलो कुरा, माओवादी केन्द्र एक्लै पनि लड्न तयार छ । अब पाँच दलबीच चुनावी गठबन्धनको लागि छलफलबाट नै निश्कर्षमा पुग्न सक्छौं ।
कांग्रेससहितको गठबन्धन गरेर जाने हो । अहिले एमालेसँग गठबन्धन गर्ने कुरामा हामी पुगेका छैनौं । कांग्रेससँग गठबन्धन भएन भने कार्यकर्ताको भावनालाई हामी सम्मान गर्छौं ।’
नवराज सुवेदीले सबै तहमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल र गठबन्धन हुने बताएका छन् । उनले भने, ‘पाँच दलबीच गठबन्धन हुन्छ, वडाको कुरा त्यही लेभलमा हुन्छ । स्थानीय तहको निर्वाचनको लागि धेरै समय बाँकी छैन् । निर्वाचनको कार्यक्रमसँग जोडिएर जानुपर्छ ।
संविधान मिचिँदा हामी हिजो एक ढिक्का भएकै हो। अब यो निर्वाचनको सन्दर्भमा पनि पाँच दलीय गठबन्धनको बीचमा हार्दिकताको साथ निक्र्यौैल गर्नुपर्छ। गठबन्धन घटकभित्र एकले अर्कोको अस्तित्व स्विकार गर्नुपर्छ । जसपा गठबन्धनबाट बाहिरिँदैन् । गठबन्धनभित्र तीनै तहको निर्वाचनमा सहमतिको वातावरण बनाउने हो ।’
स्थानीय तहको निर्वाचनको निम्ति आफ्नो पार्टीको तर्फबाट यसको तयारी पर्याप्त रुपले गरिरहेको पनि सुवेदीले बताए । उनले भने, ‘केन्द्रीय समितिको बैठकपनि भर्खरै सम्पन्न भएको छ । स्थानीय तह निर्वाचन निर्देशिका पनि निर्माण गरेका छौं । जसपाको सम्पूर्ण पँक्ति अब निर्वाचनको प्रचारप्रसारमा खटिनेछ । उम्मेदवार चयनको मापदण्डपनि बनाएका छौं ।’
उनले चुनावमा तालमेलको कुरा गर्दा पाँच दलमात्रै नभएर अरु दलसँग पनि स्थानीय तहमा तालमेल गर्ने कुरालाई खुल्ला राखेको सुनाए । उनले भने,‘स्थानीय तहमा नै तालमेलबारे बढि छलफल हुनुपर्छ । महानगरको कुरा गर्दा यसको सन्दर्भमा यसको अधिकार केन्द्रीय समितिलाई दिइएको छ, र उम्मेदवार छनोट गर्ने अधिकार केन्द्रलाई नै छ, तर उपमहानगरको सन्दर्भमा पनि प्रदेशस्तरभन्दा तल नै समाधान खोज्ने कुरा गरेका छौं ।