Logo

एनआरएनएको १०औं महाधिवेशन १० र ११ चैतमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशन १० र ११ चैतमा काठमाडौमा हुने भएको छ ।
मंगलबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर विधानसम्मन दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले गैरआवासीय एक र एकतावद्ध रहने दाबी गरे । उनले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिका लागि प्रभावकारी भूमिका खेल्ने बताए । अध्यक्ष पन्तले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारहरुले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको पनि जानकारी दिए ।
“गैरआवासीय नेपाली संघ एक रहन्छ, एकतावद्ध रहन्छ । म दावाका साथ भन्न सक्छु” अध्यक्ष पन्तले भने, “यसले नेपालको सामाजिक तथा आर्थिक समृद्धिका लागि झनै प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्दै जानेछ । मार्चको २६ र २७ गते महाधिवेशन र विशेष सम्मेलन गर्ने भनेको थियौँ, त्यसलाई केही परिमार्जन गरेर २४ र २५ मा गर्ने निर्णय गरेका छौँ ।”
त्यस्तै अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अहिलेको अवस्थामा संस्थामा वृहत आम सहमति गर्नुबाहेक विकल्प नभएको बताए । उनले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै तीनै जना अध्यक्षका प्रत्यासी मिलेर संस्थालाई अघि बढाउने बताए । “अहिलेको अवस्थामा संस्थामा वृहत आम सहमति गर्नुबाहेक कुनै पनि उपाय छैन” केसीले भने, “हरेकले व्यक्तिगत भन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि जानुपर्छ भन्नेमा हामी सहमत छौँ । यो डेढ वर्षको समय हामी सबैले एकैसाथ सामुहिक नेतृत्व गर्ने गरेर अघि बढ्ने निर्णय गरेका छाँै ।”
त्यस्तै अर्का अध्यक्षका प्रत्यासी कुल आचार्यले पदका लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए । उनले सबै गैरआवासीय नेपालीले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको पनि बताए ।
“‘हामी सबै पदको लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेका छौँ । हामी राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेका छौँ” अध्यक्षका प्रत्यासी आचार्यले भने, “पहिला भएका कमी कमजोरीलाई नियालेर सबैलाई समेट्दै अघि बढ्न चाहन्छौँ ।”
त्यस्तै अध्यक्ष पदर्की प्रत्यासी रविना थापाले संस्थामा भएका विवाद समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताइन् । उनले अहिलेको एनआरएनएको अवस्थालाई सहमति, सहकार्य बेगर अघि लैजान नसकिने पनि बताइन् । “यो संस्थाको विभिन्न किसिमको समस्या, झैझगडा, विवादहरु थिए । यी विवादलाई अन्त्य गरी संस्थालाई बलियो बनाउन इमान्दारितापूर्वक काम गरिरहेका छौँ” अध्यक्षकी प्रत्यासी थापाले भनिन्, “अहिलेको एनआरएनएको अवस्था सहमति, सहकार्यबेगर यसलाई अघि लैजान गाह्रो छ ।”
एनआरएनएले गैर आवासीय नेपाली संघलाई स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा अक्षुण राख्दै थप प्रभावकारी बनाउन पनि राजनीतिक दल र सम्बद्ध पक्षसँग आग्रह गरेको छ । यो महाधिवेशनपछि सहमति प्रणालीबाट नेतृत्व गर्ने निर्णय भएको पनि अध्यक्षकी प्रत्यासी थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्