Logo

वीरगन्ज महानगरपालिकाका प्रमुख सरावगी एमालेमा प्रवेश

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपाबाट निर्वाचित वीरगंज महानगरपालिकाका नगर प्रमुख सरावगी शनिबार एमालेमा प्रवेश गरेका हुन् । नगर प्रमुख सरावगी पहिले कांग्रेसमा प्रवेश गर्ने तयारी गरेपनि कांग्रेसका नेताहरुले चासो नलिएपछि एमालेमा प्रवेश गरेका हुन् ।
एमालेका केन्द्रीय अध्यक्ष्य केपी शर्मा ओली एमाले नेता तथा वीरगन्ज मेडिकल कलेजका सञ्चालक डाक्टर जैनुद्दीन अन्सारीको छोरीको विवाहमा सहभागी हुन वीरगन्ज आएका थिए । त्यसै क्रममा आकस्मात अन्सारीकै गाउँ प्रसौनी विर्तामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मेयर सरावगी सहित ४ जना वडाध्यक्षलाई एमालेमा प्रवेश गराएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । उनी स्थानीय तहको निर्वाचनमा १९३९३ मत ल्याएर विजयी भएका थिए । एमाले प्रवेश गर्दै उनले जनता समाजवादी पार्टीले राम्रो मान्छेलाई व्यावस्थापन गर्न नसकेको बताए । जसपाले अहिले पनि जातिवादकै राजनीति गरिरहेको टिप्पणी गर्दै मेयर सरावगीले नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेका र पूर्वमन्त्री मोती दुगडले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गराइदिएपछि एमाले प्रवेश गरेको बताए । दुगड तत्कालिन नव निर्माण पार्टीका अध्यक्ष थिए । सोही पार्टीका संरक्षकको रूपमा सरावगी पनि थिए । एमाले प्रवेश गर्दै नगर प्रमुख सरावगीले अध्यक्ष ओलीसँग आफू सुरुदेखि नै प्रभावित भएको भन्दै भने, “उहाँले जत्तिको बोल्ड डिसिजन गर्न सक्ने नेता अरु छैन ।” सहभागीता रहेको थियो ।
यस्तै, बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी पनि आज जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् । बाराको जयनगर (चिउँटाहा) मा आयोजित विशाल जनसभामा अध्यक्ष अन्सारी आफूनिकट वडाध्यक्ष र पार्टीका नेता कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् । मुस्तफालाई एमालेमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैं बारा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्