सहरी विकासमन्त्री झाँक्रीद्वारा सेनाको भवन शिलान्यास

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाका लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी छन् ।
सोमबारमन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणका लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरकी हुन् । उनले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिइन् । मन्त्री झाँक्रीले मन्त्रालय र भवन निर्माण विभागले आवश्यक सहयोग गर्न तयार रहेको भन्दै लक्ष्यमा ध्यान केन्द्रित गरेर काम गर्नुपर्ने बताइन् । उनले सिंहदरबारभित्र नै नेपाली सेनाको व्याण्ड दलका लागि भवन निर्माण गर्ने कुरा जग्गा प्राप्ति अभावका कारण सफल नभएको र जग्गा प्राप्ति गर्ने काम भइरहेको बताइन् । देश सञ्चालन हुने केन्द्र सिंहदरबारभित्र पनि समयमै काम नसके सरकारमाथि प्रश्न उठ्ने भन्दै मन्त्री झाँक्रीले प्रश्न उठ्न दिने वातावरण नबनाई काम गर्न आग्रह गरिन् ।
सिंहदरबारभित्र बन्न लागेको चण्डीदल गणको भवन निर्माणको जिम्मा बिकोइ, रसुवा र तुँदि जोइन्ट भेन्चरले प्राप्त गरेको छ । भवन निर्माणको अनुमानित लागत रकम ६५ करोड ९५ लाख रहेको र निर्माण अवधि दुई वर्ष रहेको छ । कुल क्षेत्रफल एक लाख वर्गफिटमा बन्न लागेका दुई भवनमा ७ सय २ जना जवान रहनसक्ने गरेर डिजाइन गरिएको छ । त्यस्तै भवन परिसरमा चारवटा ब्याडमिन्टन र एउटा बास्केटबल कोर्ट रहनेछ भने परेड खेल्नका लागि ग्राउण्डसमेत बनाइनेछ । कुल ४३ रोपनी ६ आना क्षेत्रफलमध्ये १० आनामात्रै भवनले ओगट्नेछ ।