Logo

‘सहमतिबिना एमसीसी अघि बढाए दुर्घटना’

पर्वत-अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएका छन् । पर्वतको कुश्मामा बिहीबार उद्योग वाणिज्य संघको ३९ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले एमसीसी सम्झौताको कारणले चौतर्फी रुपमा समस्या उत्पन्न गराएको भन्दै सबै दलहरुका बिचमा सहमति गरेर यसलाई अनुमोदन गर्ने कि फिर्ता गर्ने भन्ने बारेमा साझा दृष्टिकोण बनाउन आवश्यक रहेको बताए ।
यसले मुलुकमा विभाजन पैदा गरेको बताउँदै यस्तो अवस्थामा एमसीसी अघि बढाउन मुलुक संकटमा फस्ने उनको भनाइ रहेको छ । एमसीसी सम्झौताका कतिपय बुँदाहरु संसोधन गर्नुपर्छ भन्ने केहि दलको मत रहेको र केहि दलले जस्ताको त्यस्तै पारित गर्नुपर्छ भन्ने अडान लिएको भन्दै अर्थमन्त्री शर्माले यसलाई साझा दृष्टिकोण बनाउँदा अहिले आएका समस्याहरु हल भएर जाने दाबी गरे । उनले मेरो गोरुको बाह्रै टक्का गर्न नहुने भन्दै दलहरुबीचको साझा दृष्टिकोण विना आफ्नो व्यक्तिगत र माओवादी पार्टीको समर्थन नरहने बताए । उनले गठवबधन सरकारलाई जोगाउँदै एमसीसीको शान्तिपुर्ण व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।
फरक प्रसंगमा अर्थमन्त्री शर्माले व्यावसायी र बैंकरहरुको अन्तर छुट्टाउनुपर्ने आवश्यकता रहेको पनि बताए । “मैले यो समस्याको रुपमा देखिराखेको छु, व्यवसायी र बैंकरहरु एउटै हुन् कि फरक फरक हुन्,” उनले भने । अर्थतन्त्रणमा व्यवसायी र बैंकर एउटै जस्तो देखिँदा समस्या उत्पन्न भएको उनको भनाइ छ । शर्माले बैंकले ब्याजदर बढाउँदा अर्थतन्त्रमा नकरात्मक असर पुगेको पनि उल्लेख गरे । बैंकहरुले बढाएको ब्याजदरमा आफ्नो असहमति रहेको बताउँदै जति थोरै ब्याजदरमा कर्जा प्रवाह गर्न सकियो त्यति धेरै अर्थतन्त्र चलायमान हुने बताए ।

प्रतिक्रिया दिनुहोस्