जुम्लामा ६ हजार बढी मतदाता थपिए

जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार २ सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । गत ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो ।
निर्वाचन दिवशका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो । जसमा महिला ३ हजार ४० जना र पुरुष ३ हजार २ सय ३१ जना गरी ६ हजार २ सय ७१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए ।
थपिएका ६२ सय ७१ सहित जुम्लामा मतदाता संख्या जम्मा ६९ हजार ३ सय ३५ पुगेको छ । जसमा महिला मतदाता ३३ हजार १ सय ३७ र पुरुष मतदाता ३६ हजार १ सय ९८ जना रहेका छन् । उनका अनुसार छैटौं निर्वाचन दिवसका अबसरमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिले निर्वाचन आचारसंहिताको पालना, व्यवस्थापन, सञ्चालनबारे जिज्ञासा राखेका थिए ।
आठै पालिकामा १० दिनसम्म मतदाता नामावली संकलनको टोली खटाए पनि चिसोका कारण धेरै नागरिक तराईमा भएकाले अपेक्षाकृत रुपमा मातादाता नामावली संकलन नभएको निर्वाचन कार्यालयले जनाएको छ ।
जुम्लामा हालसम्म झण्डै ७२ हजार नागरिकले नागरिकता लिएका छन् । नागरिकता लिएका सबै नागरिकको मतदाता नामावली हुनुपर्ने हो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले भनिन्, “नागरिकता लिएकामध्ये तीन हजार नागरिकमात्रै मतदाता नामावलीबाट वञ्चित छन् । संकलन हुँदा बखत धेरै मानिस जाडो छल्न तराइमा भएकाले पनि छुटेका हुन् । यसमा भौगोलिक विकटता तथा सूचनाको अभावले समस्या छ । जुम्लामा थप तीनसहित जम्मा ७९ वटा मतदान केन्द्र रहेका छन् ।”