‘निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन सुधारको खाँचो’

म्याग्दी-आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचनका ऐन, नीतिनियमलाई सुधार गर्न आवश्यक छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले आयोजना गरेको ‘निर्वाचन संचालन तथा ब्यवस्थापनमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताले नागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अधिकार र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, जनतामाझ भयरहित बनाउन कानुन र विधि सुधारको खाँचो रहेको सुझाव दिएका छन् ।
‘निर्वाचनमाः सबै, सँधै, संँगै’ भन्ने मूल नाराका सांथ छैठौ निर्वाचन दिवस २०७८ को उपलक्ष्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा विदेशमा रहेका नेपालीलाई मतदान गर्ने वातावरण आयोगले बनाउनु पर्ने माग म्याग्दीका मुख्य राजनीतिक दलले गरेका छन् । निर्वाचनलाई मतदाताहरूले सुरक्षित रुपमा प्रविधि प्रयोग गरी गोप्य मतदान गर्ने अधिकारलाई प्रयोगमाल्याउने वातावरण निर्माणमा निर्वाचन आयोग लाग्नुपर्ने सुझाव नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी र नेपाली कांग्रेसका उपसभापति केवी भण्डारीले राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको अध्यक्षतामा भएको अन्तरक्रियामा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउन निर्वाचन कार्यालय, राजनीतिक दलसंँगै सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने बताए । निर्वाचनसम्बन्धी उठेका गुनासोलाई सहजीकरण गरेर राम्रा सुझावलाई कार्यान्वयनमा निर्वाचन कार्यालयले ध्यान दिनुपर्ने सुझाव राखे ।
कार्यक्रममा जिल्लान्यायाधीश तेजनारायण पौडेलले सरोकारवालाबाट प्राप्त सुझाव नै आगामी निर्वाचनलाई जनतामाझ स्वच्छ र विश्वसनीय तुल्याउन सहयोग पुग्ने बताए । प्रमुख जिल्ला अधिकारी रानाले निर्वाचनलाई प्रविधिमैत्री बनाउन नेतृत्व वर्गले चाहनुपर्ने सुझाव राखे । जिल्ला निर्वाचन कार्यालय प्रमुख भीमप्रसाद घिमिरेले सरोकारवालाको सुझावलाई कार्यान्वयनका लागि निर्वाचन आयोगमा पठाउने बताए । जिल्लामा करिब ९० हजार मतदाताको संख्या देखिए पनि मतदाताको नामावली रुजु गरेर आयोगले पठाएमा मतदाता संख्या फेरबदल हुने अनुमना छ ।