नेपाली चिया निकासीमा अवरोध

झापा-नेपाली चियाको तेस्रो मुुलुक निकासीमा भारतले पटकपटक अवरोध खडा गर्ने गरेको गुनासो निर्यातकर्ताहरूले गरेका छन् । भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले आइतबार झापामा आयोजना गरेको ‘नेपाली चिया उत्पादन, प्रवद्र्धन र निकासीका समस्याहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नेपाली निर्यातकर्ताहरूले भारतीय भन्सार प्रशासनले नेपाली चिया निर्यातमा अवरोध गर्ने गरेको बताएका हुन् ।
विश्व व्यापार संगठन, नेपाल भारत व्यापार सन्धिको व्यवस्था अनुसार कृषि उत्पादनमा अवरोध गर्न मिल्दैन । तर, नेपाली निर्यातकर्तालाई भारतले दुःख दिँदै आएको नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए । “सरकारले यस्ता गतिविधिमाथि भारतसँग गम्भीर प्रश्न गर्न सकेको छैन, जुन दुःखद् हो,” उनले भने । भारतले नेपाली चिया निर्यातमा पटक–पटक अवरोध गर्नुको मुख्य कारण नै आफ्नो उत्पादनको बजार सुरक्षित गर्नु रहेको अध्यक्ष मित्तलले बताए । “भारतको कुल चिया उत्पादनमध्ये १ प्रतिशतमात्र हामी निर्यात गर्छौं । तर पनि हाम्रो उत्पादनसँग भारत तर्सने गरेको छ,” मित्तलले भने, “नेपाली चियाको गुणस्तरसँग भारत डराएको हो ।” भारतले नेपाली चियालाई ब्रान्डिङ गरेर दार्जिलिङको चिया भनेर बिक्री गरिरहेको उनी बताउँछन् ।
इलाम र दार्जिलिङको भू–बनोट एउटै भएकाले यी ठाउँमा उत्पादन हुने चियाको स्वाद र गुणस्तर पनि लगभग उस्तै छ । “तर, दार्जिलिङको चिया बूढो भइसक्यो, जसकारण कम गुणस्तरको चिया उत्पादन हुने गरेको छ,” हिमालय अर्थोडक्स टी एसोसिएसनका अध्यक्ष उदय चापागाईँले बताए । आफ्नो गुणस्तर कमजोर भएकै कारण नेपाली चियाले बजार थप विस्तार गर्ने भयले भारतका व्यवसायीले नेपाली चिया आयातमा अवरोध खडा गर्ने गरेको उनको भनाइ छ ।
सरकारले विगत दुई वर्षदेखि भारतका साथै तेस्रो देश चिया निर्यात गर्दा ५ प्रतिशत नगद अनुदान दिँदै आएको छ । तेस्रो मुलुक निर्यातमा अनुदान बढाउनुपर्ने चापागाईँको माग छ । “विश्व बजारमा चिया निर्यातलाई प्रोत्साहन गर्न निर्यात अनुदानलाई १५ प्रतिशत पु¥याउनु पर्छ,” उनले भने ।
तेस्रो मुलुक निर्यातको लागत पनि धेरै भएकाले भारतमा नै बिक्री गर्नुपर्ने बाध्यता निर्यातकर्तालाई रहेको इलामको तारागाउँ टी स्टेटका सञ्चालक समिर श्रेष्ठले बताए । “नेपाली निर्यातकर्ता तरबारको धारमा छन् । ल्याब परीक्षणको नाममा पनि भारतले दुःख दिँदै आएको छ,” श्रेष्ठले भने, “नेपाली भन्सारमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याब नहुँदा हाम्रो उत्पादन परीक्षणको लागि कोलकाता पु¥याउनुपर्ने र त्यस अवधिमा हप्तौंसम्म हाम्रो चिया भन्सारमा होल्ड हुन्छ ।” वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत अवरोध हटाउन गृहकार्य नगरेको उनको भनाइ छ ।
चिया उद्यमी चण्डी पराजुली चिया क्षेत्रलाई सरकारले संरक्षण नगरेको बताउँछन् । निर्यातको वृद्धि बढाउनका निम्ति नेपालले ठोस पहल थाल्नुपर्ने पराजुलीको माग छ । पछिल्लो पटक गत मंसिर पहिलो साता ‘टी बोर्ड अफ इन्डिया’ले नेपाली चियाको आयात रोक्न भारतको वाणिज्य तथा उद्योग मन्त्रालयसँग माग गरेको थियो । फलस्वरुप झापा र इलामका विभिन्न कारखानाबाट निर्यात हुन लागेको २ करोड रुपैयाँ बराबरको ६० टन चिया मेची भन्सार कार्यालयको गोदाममा १ सातासम्म थन्किएको थियो ।
ब्रान्डिङ र बजारीकरणमा लागौं : महावाणिज्यदूत पौडेल
निर्यातकर्तासँगको अन्तरक्रियामा कोलकतास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले नेपाली चियाको मुख्य बजार भारत नै रहेको बताए । “भारतीय उत्पादनकर्ताले नेपाली चियालाई दार्जिलिङ चियाको नाममा ब्रान्डिङ गरेर युरोपियन मुलुक पु¥याउने गरेको विषयमा म पनि जानकार छु,” महावाणिज्यदूत पौडेलले भने, “भारतीय उत्पादनकर्ता नै नेपाली चिया गुणस्तरीय छैन भन्ने आरोप पनि लगाउने गरेका छन् ।”
तर, नेपाली निर्यातकर्ताले भारतसँग सम्बन्ध बिगार्न भने नहुने पौडेल बताउँछन् । “अन्य नाकाबाट चिया निर्यात गर्न लागत खर्च पनि बढ्ने भएकाले समस्या हुन्छ । त्यसैले भारतसँग नेपाल सरकारले सहजीकरण गरेर सहज रुपमा निर्यात गर्ने वातावरण बनाउनुपर्छ,” उनले भने । उनले आवश्यक प्रक्रिया पूरा गरेर मात्र चिया निर्यात गर्न निर्यातकर्तालाई आग्रह गरे । “अब ब्रान्डिङमा लगानी गरौँ, बजारीकरणमा लगानी बढाऔं । निर्यातमा अवरोध हुन नदिन नेपाली भन्सारले भारतीय भन्सारसँग, सुरक्षाले सुरक्षा निकायसँग समन्वय गर्नुपर्छ । महावाणिज्य दूतावास आफ्नो ठाउँबाट पहल गर्छ,” उनले भने । तेस्रो मुलुक निर्यातका लागि पनि थप सम्भावना पहिल्याउनु पर्ने उनले बताए । कोलकाता हुँदै निर्यात गर्दा लाग्ने लागत घटाउन र ल्याब परीक्षणमा लाग्ने समय घटाउन महावाणिज्य दूतावासले पहल गर्ने प्रतिवद्धता उनले जनाएका छन् ।
सीटीसी चियालाई ट्रेडमार्क उपलब्ध गराउँछौं : कार्यकारी निर्देशक भट्टराई
नेपाली चियाले सधैं दुःख पाउँदै आएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताए । भारतीय सञ्चारमाध्यमले नेपाली चियाको विषयमा भ्रमपूर्ण समाचार प्रकाशन गर्ने गरेकाले पनि नेपाली चियाले दुःख पाउने गरेको भट्टराई बताउँछन् । यो समस्या हल गर्नका लागि सीटीसी चियालाई पनि ट्रेडमार्क दिएर निर्यात गर्ने प्रक्रिया अघि बढाउने कार्यकारी भट्टराईले बताए । नेपाली चिया विश्व बजारमा उत्कृष्ट चिया रहे पनि आफ्नो आन्तरिक गुणस्तरमा भने कुनै पनि सम्झौता गर्न नहुने उनको भनाइ छ ।
निर्यातमा सहुलियत प्रदान गर्न चिया तथा कफी विकास बोर्डले सरकारी निकायसँग छलफल गरिरहेको भट्टराईको भनाइ छ । ल्याबको नाममा निर्यातकर्ताले भोग्दै आएको समस्या समाधान गर्न पनि आफू लाग्ने प्रतिबद्धता उनले जनाए । निर्यात अनुदानलाई १४ प्रतिशतसम्म पु-याउन सरकारसँग माग गरे पनि सरकारी पक्षबाट सम्बोधन नभएको भट्टराईको भनाइ छ ।