गुणस्तरीय शिक्षाका लागि तालिमको महत्व «

गुणस्तरीय शिक्षाका लागि तालिमको महत्व

जुनसुकै सिकाइमा पनि तालिमको गहन भूमिका रहन्छ भने शिक्षण सिकाइमा त शिक्षक तालिमको प्रभावकारिता अत्यन्त महत्वपूर्ण छ ।

शिक्षा मानव जीवनको आधारशिला हो । शिक्षाबिना व्यक्ति, समुदाय तथा देशको कुनै पनि विकास नहुने कुरा ध्रुव सत्य छ । यसै सन्दर्भमा ख्यातिप्राप्त अमेरिकी शिक्षाविद् तथा दार्शनिक जो डिवेको शब्दमा, ‘शारीरिक विकासका लागि खानाको आवश्यक जरुरत छ,’ त्यस्तै शिक्षाविद केभिनियनको भनाइमा, ‘मानिसहरू भएर जन्मेका सबैलाई शिक्षाको आवश्यकता पर्छ, किनभने तिनीहरू वास्तविक मानिस भएर गुणस्तरीय जीवनयापन गर्न चाहन्छन् ।’ अतः सम्पूर्ण विकासको स्रोत नै गुणस्तरीय शिक्षा हो । गुणस्तर शिक्षाका लागि शिक्षक तालिम अपरिहार्य छ ।
हाम्रो देशको सन्दर्भमा शैक्षिक संस्थामा तालिम दिनका लागि अति आवश्यकता हुन्छ । शैक्षिक संस्थामा तालिमबिना दिएको शिक्षा प्रभावकारी हुँदैन । वास्तविक रूपमा भन्ने हो भने अधिकांश गरिबीको रेखामुनिका वास्तविक नेपाली जनताले आफ्ना बालबालिकालाई आफ्नो पेट काटेर ऋण काढेर जग्गाजमिन बिक्री गरी, रगत पसिना बगाई वा अन्य विभिन्न समस्या सहेर पढाएका छन् । बिनातालिम विद्यालयले विद्यार्थीको अङ्कअनुसार मूल्याङ्कन गरी कक्षा चढाइँदामा मात्र पनि हुँदैन, तालिम प्राप्त नगरेको शिक्षकलाई के थाहा कुन बालक नेपालको महान् व्यक्ति ? आदिलाई विद्यालयले ठूलो चुनौतीका साथ लिनुपर्छ ।
विद्यालय हाकिमखाना होइन, विद्यालयमा मालिक र नोकरभन्दा पनि असल शिक्षक नै हुनुपर्छ । शिक्षक, शिक्षा मानव जीवनकै आधारशिला भएकाले विद्यालयकै कक्षाकोठामा विद्यार्थीलाई योग्य किसिमबाट शिक्षण गर्नुपर्ने हुन्छ । राष्ट्रको समग्र उन्नतिका लागि सक्षम जनशक्ति आवश्यक पर्छ । विद्यालयको मुख्य विद्यालय परिवार व्यवस्थापन समिति, समुदाय आदि आउँछन् । यस्ता बालबालिकाको मनोबलको सहयोगबाट विद्यालय अगाडि बढ्छ ।
विद्यालयमा योग्य प्रशिक्षणस्थल र प्रधानाध्यापक योग्य प्रशिक्षक भएको विद्यालयमा शिक्षकहरू क्रमशः प्रशिक्षित बन्दै जान्छन् । शिक्षक नमस्ते, चाकडी, जी–हजुरभन्दा परिश्रमी, विषयवस्तु विज्ञ, पेशाप्रतिको निष्ठा र शिक्षक हुनुको गौरव बोध बुझ्नु आजको आवश्यकता हो । शिक्षक हुनु भनेको नोकरी गर्नु, आफ्नो राजनीतिक पार्टीको झण्डा बोक्न व्यक्तिगत स्वार्थका लागि विद्यालय नगई सडकमा धर्ना दिने, टायर बाल्ने काम मात्र होइन भन्ने कुरामा शिक्षकले स्पष्ट दिशाबोध गर्नुपर्छ । आफ्नो इच्छाअनुसार विद्यालयमा आयो, तोकिएको कक्षाका येनकेन पढायो, कुनै परियोजनाविहीन अनि घर वा डेरा फक्र्यो । असल वा तालिम प्राप्त शिक्षकको काम यो होइन, पढाउँदैमा शिक्षक भइहाल्न गाह्रो छ । शिक्षक सबैभन्दा आदरणीय र जिम्मेवार व्यक्तित्व हो । शिक्षकसँग ज्ञान, सीप र दक्षता चाहिन्छ नै; साथमा दूरदृष्टि क्षमता, पहिचान शक्ति, राष्ट्रप्रतिको चिन्ता, जीवनप्रतिको संवेदनशीलता, पेसाप्रतिको इमानदारिता आदि आवश्यक हुन्छ । यसका अतिरिक्त व्यक्तिगत स्वार्थका लागि रिले अनशन, आन्दोलन, धर्ना, जुलुस आदिबाट सडक तताउने कार्य राम्रो होइन, बरु प्राज्ञिक प्रकृतिको विरोध हुनु जरुरी छ ।
शिक्षाका विभिन्न तहमध्ये प्रमुख वा सुरुको औपचारिक तह भनेको आधारभूत तह हो । यस तहमा घरपरिवारको मायाममताको छहारीमा हुर्केका बालबालिका विद्यालय आउँछन् । यहाँ बालकले सबै नयाँ परिवेश पाउँछन् । यस्ता बालबालिकाको मनोभावना बुझी शिक्षकले आफ्नो क्षमताको प्रदर्शन गर्नुपर्ने हुन्छ, जुन क्षमता तालिमबाट सम्भव हुन्छ । सो तालिमका बारेमा यहाँ छोटकरीमा विवेचना गर्नु वाञ्छनीय हुन्छ कि ?
तालिमबारे विभिन्न शिक्षाविद्हरूले आ–आफ्नो सोचाइ राखेका छन्, तैपनि निष्कर्षमा आफूले चाहेजस्तो व्यवहार ल्याउन सिकाउने विभिन्न क्रियाकलापलाई तालिम भनिन्छ । जस्तै बालकलाई दाँत, मुख सफाइ तथा खाना खान सिकाउनु आदि । तालिम सुरुदेखि आफ्नै तौरतरिकाबाट चल्दै आएको सिकाइको एक प्रमुख प्रक्रिया हो । यसको विभिन्न समय, परिस्थिति र आवश्यकताअनुसार तालिमको महत्व रहँदै आएको पाइन्छ । शिक्षण सिकाइलाई प्रभावकारी र आकर्षक बनाउन तालिमको महत्व ज्यादै छ । तालिमप्राप्त शिक्षकले मात्र बालबालिकाको मनोभावनाअनुसार आफ्नो सिकाइ प्रभावकारी बनाउन सक्षम हुन्छ । अतः जुनसुकै सिकाइमा पनि तालिमको गहन भूमिका रहन्छ भने शिक्षण सिकाइमा त शिक्षक तालिमको प्रभावकारिता अत्यन्त महत्वपूर्ण छ ।
नेपालको शिक्षक तालिमको इतिहासलाई हेर्दा २००७ सालको राणाकालीन शासनको अन्त्यपछि शक्तिशाली सहयोगी राष्ट्र अमेरिकाको सहयोगमा शिक्षा क्याम्पसको स्थापना भई शिक्षकलाई तालिम दिन प्रयास भयो । वि.सं. २०२८ मा राष्ट्रिय शिक्षा पद्धतिको योजनाको कार्यान्वयनको विस्तारले थप प्राथमिकता पायो । यसै समयदेखि शिक्षक सेवामा प्रवेश गर्ने जोसुकैले पनि शिक्षक तालिम लिनुपर्छ भन्ने मान्यता प्राप्त गरेको पाइन्छ ।
यसै क्रममा वैदेशिक सहायतामा शिक्षकहरूको विकासका लागि पूर्वसेवाकालीन र सेवाकालीन तालिम सञ्चालन हुन थाल्यो । वि.सं. २०२८ मा राष्ट्रिय शिक्षा पद्धति योजना तालिमलाई अझ थप प्रभावकारिता प्रदान गरेको पाइन्छ । त्यस कार्यको फलस्वरूप शिक्षकको क्षमता विकासका लागि पूर्वसेवाकालीन र सेवाकालीन तालिमहरू सञ्चालन गरिए । सर्वाङ्गीण राष्ट्रिय शिक्षा पद्धतिको योजना सेवा परियोजना, प्राथमिक शिक्षा परियोजना, रेडियो शिक्षा कार्यक्रम, आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम प्रथम र दोस्रो चरणसम्म आइपुग्दा प्राथमिक शिक्षक तालिमसम्बन्धी धेरै प्रयोग र परीक्षण नेपालमा भइसकेका छन् । हालको शैक्षिक तथ्याङ्कलाई अध्ययन गर्दा शिक्षक तालिम धेरैले लिएको देखाउँछ, सो तालिमका लागि अर्बौं रुपैयाँ खर्च भएको छ । तर, लगानीअनुसारको प्रतिफल भने त्यति छैन । दीर्घकालीन तालिमको तुलनामा अल्पकालीन तालिमले खासै सफलता हासिल गर्न नसकेको कुरा सम्बन्धित क्षेत्रका शिक्षक वा विज्ञहरूले प्रकाश पारेका छन् । यी सबै कुरालाई विश्लेषण गर्दा अब देश परिस्थितिअनुसार शिक्षण तालिमलाई प्रभावकारी उत्तम साथै आकर्षक हुने किसिमको बनाउनुपर्ने बेला आएको छ । आजभोलिको शिक्षा तालिम औपचारिकता मात्र छ, अब साँच्चै नै गुणस्तरीय शिक्षक तालिमको आवश्यकता छ । आजका शिक्षाविद्, सबै राजनीतिक पार्टीले योबारे गहन रूपमा सोच्ने बेला आएको छ ।
शिक्षणको वैज्ञानिक आधार भनेको तालिम नै हो । उचित तालिमप्राप्त शिक्षकवर्गबाट मात्र विद्यार्थीहरूको योग्यता, स्तर, रुचि तथा क्षमता, आवश्यकता पहिचान गर्न सकिन्छ र सोहीअनुरूप आफ्नो शिक्षणमा प्रभावकारिता ल्याई सम्पूर्ण भविष्यका कर्णधार विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सघाउ पु¥याउन सकिन्छ । अतः राष्ट्रको भविष्य गुणस्तरीय शिक्षामाथि नै निर्भर रहने हुँदा शिक्षकलाई आजको लोकतान्त्रिक समयमा मागअनुसार वैज्ञानिक ज्ञानसँग परिचित गराउने, शिक्षण प्रक्रियामा नवीनतम चिन्तन, विचार तथा प्रविधिको प्रयोग गर्न सक्ने बनाउनुपर्छ । अतः उचित तालिमप्राप्त शिक्षकले मात्र बालबालिकाको मनोभावनाअनुसार शिक्षण क्रियाकलाप गर्न सक्षम हुन्छ । शिक्षणसम्बन्धी ज्ञान, सीप, कुशलता सही र प्रभावकारी तालिमबाट प्राप्त हुन्छ । तालिमबिना बालबालिकाको आचरण वा व्यवहारहरूमा परिमार्जन गर्न सकिँदैन । सो कारण बालबालिकाको सुनौलो भविष्यका लागि उच्च किसिमको प्रभावकारी शिक्षण तालिमको महत्व ज्यादै छ ।
शिक्षा क्षेत्रमा शिक्षकहरूलाई प्रभावकारी तरिकाद्वारा समय सुहाउँदो तालिमका प्रकार र विधिहरू अपनाएर तालिम सञ्चालन गर्नुपर्ने हुन्छ । तालिमका प्रकार र विधिहरू बुँदागत रूपमा यहाँ प्रस्तुत गरिन्छ । तालिमका प्रकारहरू— पूर्वसेवाकालीन तालिम, सेवाकालीन तालिम, साधारण तालिम, विशिष्ट तालिम, प्रशिक्षक प्रशिक्षण, पुनर्ताजगी तालिम, गुणस्तरीय तालिम आदि भने मुख्य विधिमा प्रवचन विधि, सम्मेलन विधि, घटनाक्रम अध्ययन विधि, समूह छलफल विधि, भूमिका निर्वाह विधि, कार्यशाला विधि, कार्य परिवर्तन विधि, अध्ययन भ्रमण विधि, गुणस्तरीय शिक्षा विधि आदि विधिहरू अपनाएर शिक्षक तालिम प्रभावकारी बनाउन सकिन्छ । उचित रूपमा सही विधि अपनाएर तालिम कार्यक्रम सञ्चालन गर्दा सफल शिक्षण हुन्छ, नत्रभने जति लगानी गरे पनि हात्ती आयो फुस्स ।
हाम्रो देशमा शिक्षक तालिम उचित प्रभावकारी नभई शिक्षा क्षेत्र समस्यामय हुनुका कारण— तालिमको प्रभावकारी नीति अनुसरण गर्न नसक्नु, उचित विधिको प्रयोग हुन नसक्नु, तालिम लिने शिक्षकको मनोभावना जित्न नसक्नु, तालिम लिने शिक्षकको अनुशासनको कमी एवं सही तत्परता साथ शिक्षण सिकाइमा भाग नलिनु, सरकारको पन्धौँ योजनाले पनि आवश्यक तालिमका लागि स्पष्ट मार्ग चित्रण दिए पनि कार्यान्वयन हुन नसक्नु, नीति निर्माणको ठूलो तिरस्कार, शैक्षिक संस्थाबीच समन्वयको अभाव, राजनीतिक स्वार्थ, शैक्षिक तथा भौतिक पूर्वाधारको कमी, शैक्षिक क्षेत्रमा व्यापारीकरण, अनुशासनको कमी, जनताको न्यून आर्थिक स्थिति, व्यावसायिक तालिमको अभाव, वास्तविक आवश्यकताअनुसार तालिम दिन नसक्नु, असक्षम राजनीतिक नियुक्ति आदि कारणबाट नेपालको शैक्षिक स्तर चौबाटोमा नग्न छ ।
अतः यी माथिका समस्यालाई हल गर्न विद्यालयमा आभारभूत शिक्षा तथा व्यावसायिक शिक्षामा जोड, गुणस्तरीय तालिम एवं मूल्याङ्कन, पाठ्यक्रमको स्तरीयता मापन, शैक्षिक क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई कदर गरी व्यापारीकरण प्रवृत्ति रोक्ने साथै गुणस्तरीय व्यावहारिक शिक्षामा जोड, शैक्षिक संस्था दर्ता, सम्बन्धन, मापन, अनुगमन आदिको प्रभावकारिता, विद्यालय निरीक्षकका लागि आवश्यक प्रयोग, प्रभावकारी नीति, अनुशासन, जवाफदेहिता आदि किटान, सक्षम प्रशासन, नातावाद, राजनीतिक प्रदूषण, भ्रष्टाचारीलाई प्रश्रय नदिने, जनसहभागितामूलक प्राविधिक तालिममा जोड, जनताको आर्थिक स्थिति वृद्धि गर्ने उचित शैक्षिक योजनाको विकास, आवश्यक उपकरण प्रयोग, योग्य व्यक्तिलाई स्थान दिई जिम्मेवारीपूर्वक विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराएर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर देखाउन सकेमा त्यसको सिको सम्पूर्ण क्षेत्रमा परी बदलिँदो राजनीतिक परिवेशमा शिक्षाका तहमा आवश्यकताअनुसार पुनर्संरचना साथ अगाडि बढेमा आजको समस्या समाधान भई राष्ट्रले शिक्षामा गरेको लगानीसमेत सफल भई गुणस्तरीय शिक्षा तालिमद्धारा गुणस्तरीय जीवन आजको आवश्यकता भन्ने कुरा सफलीभूत पारी नयाँ नेपालको सिर्जना गर्न मद्दत मिल्न गई नेपाल र नेपालीको हित हुने थियो ।

प्रतिक्रिया दिनुहोस्