Logo

लगानीसम्बन्धी कानुन बनाउँदा गम्भीर बन्न सांसद चौधरीको आग्रह

सांसद विनोद चौधरीले वैदेशिक लगानी प्रवद्र्धन जस्ता महत्वपूर्ण कानुन निर्माणमा गम्भीर बन्न सरकार र सांसदहरुको ध्यानाकर्षण गराएका छन् । संसद्को उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हितसम्बन्धी समितिमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि विशेषज्ञको हैसियतले धारणा राख्दै सांसद चौधरीले नेपालमा वैदेशिक लगानी बढ्न नसक्नुका कारणबारे गहिरो अध्ययन हुनुपर्ने र सोही आधारमा कानुन निर्माण गर्नुपर्ने बताएका हुन् ।
“वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन (फिटा) लगानीको क्षेत्रमा दूरगामी असर गर्ने ऐन हो । लगानीको भविष्य कोर्ने ऐनलाई पर्याप्त मात्रामा छलफल गरेर मात्रै ल्याउनुपर्छ,” सांसद चौधरीले भने, “अन्यथा सरकारले सोचेको जस्तो तथा निजीक्षेत्रले चाहेको जस्तो लगानी भित्रिन सक्दैन ।” नेपालमा विदेशी लगानी प्रवद्र्धन गर्न सकिएको छ भने त्यसको अनुभव र सकिएको छैन भने त्यसका कारण पहिल्याएर मात्रै आगामी दिशा तय हुनसक्ने विश्लेषण गर्दै सांसद चौधरीले भने, “यदि हामीले हतारमा कानुन ल्याउनका लागि मात्रै कानुन बनायौं भने त्यो अर्को गल्ती हुनेछ । हामी पुरानै समस्यामा रुमलिइरहनेछौं ।” लगानी सम्मेलन अगाडि आर्थिक क्षेत्रमा सुधारका धेरै कामहरु गर्नु राम्रो रहेको धारणा राख्दै उनले यो कामलाई समयमै अगाडि बढाएको भए अझ राम्रो हुने बताए ।
सांसद चौधरीले लगानी सम्मेलन अगाडि सरकारले कानुनी सुधारका लागि चालेका कामहरु सकारात्मक भए पनि यसको प्रकृयामाथि भने प्रश्न उठेको बताए । सांसदहरुले एकपटक राम्रोसँग अध्ययन समेत गर्न नपाई विधेयकहरु पारित गर्नु परेको भन्दै उनले असन्तोष व्यक्त गरे ।
तीन वर्षअघि सम्पन्न लगानी सम्मेलको स्मरण गर्दै सांसद चौधरीले त्यतिबेला १४ खर्ब रुपैयाँबराबरको लगानी भिœयाउने प्रतिबद्धता प्राप्त भए पनि कार्यान्वयन नभएको भन्दै यसलाई नजिरका रुपमा लिँदै आगामी सम्मेलनलाई व्यवहारमै सफल बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्