टेलिकमद्वारा ‘अन्तरआबद्धता’ शुल्क समायोजन

नेपाल टेलिकमले ‘अन्तरआबद्धता शुल्क’ लागू गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशिका अन्तर्गत अन्तर्देशीय अन्तरआबद्धता मा उल्लेख गरिएको प्रावधान अनुसार ‘अन्तरआबद्धता शुल्क’ लागू गरिएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमका ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयानुसार स्वीकृत भई आएकोले परिमार्जित महशुल दर कार्यान्वयनमा ल्याएको हो ।
नयाँ अन्तर्देशीय अन्तरआबद्धता कार्यान्वयन भए पश्चात् एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा लागू हुने महशुल दर परिमार्जन भई शुल्कमा कमी आउने छ । सो अनुसार कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुल दर प्रति मिनेट एक रुपैयाँ १० पैसा मात्र कायम हुनेछ।
यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सी फोन पोस्टपेडबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम हुनेछ ।
साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रति सन्देश एक रुपैयाँ १० पैसा कायम हुने टेलिकमले जनाएको छ ।