मन्त्री अथकद्वारा विजेता खेलाडीलाई बधाई

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूलाई बधाई दिनुभएको छ । अफ्रिकी देश मौरिसससँगको मैत्रीपूर्ण खेलमा जित हासिल गरेको नेपाली टिमलाई मन्त्री अथकले बधाई दिनुभएको हो ।
दशरथ रंगशालामा मंगलबार बेलुका भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० गोलले पराजित गरेको थियो । यसअघि गत शनिबार भएको पहिलो खेलमा समेत नेपाल विजयी भएको थियो । अफ्रिकन देशसँग पहिलो पटक भएका दुबै मैत्रिपूर्ण खेल हेर्न मन्त्री अथक स्वयं रंगशालामा उपस्थित भएका थिए । रंगशालामा उपस्थित भई प्रत्यक्ष खेल हेर्नुभएका मन्त्री अथकले नेपाली खेलाडीहरूको खेलबाट आफु प्रभावित भएको प्रतिक्रिया दिए ।
प्रतियोगिता समयभरी निकै उत्साहित देखिनुभएका मन्त्री अथकले नेपाली खेलाडीहरूले स्तरीय खेल प्रदर्शन गरेको भन्दै खुसीसमेत व्यक्त गरेका थिए । मन्त्री अथकले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको समेत प्रशंसा गरेका छन् । साथै पहिलो पटक मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मौरिससको टिमलाई मन्त्री अथकले धन्यवाद दिए ।