महाकाली नदीमा पुल निर्माण गर्न नेपाल र भारतबीच सम्झौता

महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौता भएको छ ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले नेपाल र भारतबीचको आवागमन सहज हुने बताए । त्यस अवसरमा उनले पुल बनिसकेपछि त्यहाँका जनताको जनजीवन तथा दुई देशबीचको सम्बन्धलाई अझै उचाइमा पु¥याउने विश्वाससमेत व्यक्त गरे । मन्त्री यादवले निर्धारित समयमै पुलको निर्माण कार्य सम्पन्न गरी दुवै देशका जनताको सहज आवागमनको चाहनालाई छिटो पूरा गर्नेतर्फ लाग्न पनि दुवै देशका सम्बन्धित अधिकारीसँग आग्रह गरिन् ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल र भारतको सीमा जोड्ने महाकाली नदीमा पुल बनाउने कुरामा भएको सम्झौता खुसीजनक रहेको बताए । उनले भारत र नेपाल सरकारको सहकार्यमा धेरै काम भइरहेको उल्लेख गर्दै उक्त क्षेत्रमा बन्ने पुलले नेपाल र भारतका लागि आवागमनमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।राजदूत क्वात्राले नेपाल र भारत सरकारको तर्फबाट महाकाली नदीमा बनाइने पुलको काम दुवै देशको सहकार्यमा समयमा नै सम्पन्न हुने विश्वास लिएको पनि बताए।