बढ्दो लगानी प्रतिबद्धतालाई सहजीकरण गरौं

चालू आवको पुससम्ममा उद्योग विभागमा दर्ता भएका सम्पूर्ण उद्योगले २४ खर्ब ७० अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।
लगानी प्रतिबद्धताअनुरूप लगानी नेपाल नभित्रिने पुरानै समस्या यथावत् छ । तर पनि पछिल्लो ६ महिनामा लगानी प्रतिबद्धता बढेको देखिन्छ । उद्योग विभागको तथ्यांकका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा डेढ गुणाभन्दा बढीले लगानी प्रतिबद्धता वृद्धि भएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७७-०७८ को पुस मसान्तसम्म ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएकोमा चालू आर्थिक वर्षको पुससम्म बढेर १ खर्ब ८६ अर्ब प्रतिबद्धता आएको छ । तर, लगानी प्रतिबद्धता बढ्दैमा खुसी भइहाल्ने अवस्था भने सिर्जना भइसकेको छैन । विगतमा पनि लगानी प्रतिबद्धताको बाढी आएकै हो ।
तर, व्यवहारमा आएको लगानी हेर्दा प्रतिबद्धता र वास्तविक लगानीको बीचमा ठूलो खाडल देखिन्छ । सरकारका निकायले लगानी प्रतिबद्धता गर्ने विदेशी कम्पनीलाई नियमित सम्पर्कमा रहेर सहजीकरण गर्ने तथा लगानी भित्र्याउन कानुनी तथा प्रशासनिक झन्झट कम गर्ने कार्यमा गम्भीरताका साथ नलागेको कारण नै विगतमा पनि प्रतिबद्धताअनुरूपको लगानी नभित्रिएको अनुभव छ । हुन त सरकारी निकाय तथा कर्मचारी सहजीकरण गरेको बताउँछन् तर धेरै सरकारी निकायले सहजीकरण नगरेको तथा प्रशासनिक झन्झट देखाएका कारण नेपाल लगानी गर्न नसकिएको लगानीकर्ताको गुनासो छ । सहजीकरण गर्न उद्योग विभागदेखि लगानी बोर्डसम्मको एउटै सूचना प्रवाह तथा विभिन्न मन्त्रालयसँगको सहकार्य आवश्यक पर्छ । तर, नेपालमा अन्तरमन्त्रालय समन्वयको कमी मात्र नभएर एउटा मन्त्री फेरिनेबित्तिकै अर्को मन्त्रीको नीतिगत अन्योलले पनि लगानीकर्ता फिर्ता गएका उदाहरणहरु धेरै छन् । तसर्थ, लगानी प्रतिबद्धता बढ्यो भन्नुको साटो अब उद्योग विभागले वास्तविक लगानी कति आयो, त्यसमा ध्यान दिनु अत्यावश्यक भइसकेको छ । अन्यथा प्रतिबद्धताको तथ्यांकको भरमा मुलुकमा लगानी भित्रिन नसक्ने स्पष्ट छ ।
सदाझैं यसपटक पनि लगानी प्रतिबद्धता लोभलाग्दो छ । गत आर्थिक वर्ष १ सय ३ वटा उद्योग दर्ता भएका थिए भने यस आर्थिक वर्षको पुस मसान्तसम्म १ सय ५४ उद्योग दर्ता भएका छन् । जसमध्ये मझौला तथा ठूला उद्योग दर्ता बढेको छ भने साना उद्योग दर्ता घटेको छ । गत आर्थिक वर्ष १७ ठूला उद्योग दर्ता भएकोमा चालू आर्थिक वर्ष ४५ ठूला उद्योग दर्ता भएका छन् । मझौलातर्फ गत आवमा २१ उद्योग दर्ता भएकोमा चालू आवमा ५७ उद्योग दर्ता भएका छन् । यस्तै, साना उद्योगतर्फ गत आवमा ६५ उद्योग दर्ता भएकोमा चालू आवमा ५२ उद्योग दर्ता भएका छन् । साथै, चालू आवको पुससम्ममा उद्योग विभागमा दर्ता भएका सम्पूर्ण उद्योगले २४ खर्ब ७० अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । तर, प्रतिबद्धताअनुसार उद्योग स्थापना भए÷नभएको र सञ्चालनमा रहे-नरहेको विषयमा विभागमा कुनै जानकारी छैन । कोरोना महामारीको बीचमा पनि उति धेरै लगानी प्रतिबद्धता आउनु भनेको नेपालमा लगानी गर्ने उत्साह अझै छ । यदि प्रतिबद्धाअनुरूप सबै लगानी आएको खण्डमा ती उद्योगबाट १३ हजार ७ सय ४८ नयाँ रोजगारी सिर्जना हुने विभागको अनुमान छ ।
गत आवको लगानी प्रतिबद्धताबाट ६ हजार २ सय ८८ रोजगारी सिर्जना हुने प्रस्ताव गरिएको भए तापनि कति उद्योग स्थापना भए र कति रोजगारी सिर्जना भयो, विभागको जानकारीमा छैन । चालू आवको ६ महिनामा कुल लगानी प्रतिबद्धतामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता पनि ३०.२० प्रतिशतले बढेको छ । गत आवको पुससम्म २३ अर्ब ४७ करोड रुपैयाँ रहेको वैदेशिक लगानी प्रतिबद्धता चालू आवको ६ महिनामा बढेर ३० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । जसअनुरूप कुल वैदेशिक लगानी प्रतिबद्धता तीन खर्ब ९५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । उक्त प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता वास्तविक रूपमा आएको खण्डमा नेपालमा २ लाख ८२ हजार ३ सय ११ जनामा रोजगारी सिर्जना हुने आकलन छ । तर, वास्तविक रूपमा हेर्ने हो भने यी तथ्यांक उद्योग विभागमा मात्र रहने पुरानै अनुभव भएका कारण स्वदेशमा नै रोजगारी सिर्जना तथा लगानीका लागि सरकारले प्रशस्तै मेहनत गर्नुपर्ने देखिन्छ ।