फोरजी एलटीई वाईफाईका लागि टेलिकमको सहकार्य

नेपाल टेलिकमले एफटीटीएच सेवा नपुगेका सुगम तथा दुर्गम स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेज ल्याएको हो ।
कम्पनीले उपलब्ध गराइरहेका प्याकेजहरुमा डिभाइससहित ग्राहकलाई सहज रुपले प्राप्त होस् भनी टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ ।
दुई पक्षबीच सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्सका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् । फोरजी एलटीई नमस्ते वाईफाईमार्फत टेलिकमले हाल व्यक्तिगत प्याकेज र सरकारी कार्यालय प्याकेज गरी दुई प्रकारका प्याकेज ल्याएको छ । व्यक्तिगत प्याकेज अन्तर्गत होम ब्रोडब्यान्ड बेसिक ८ सय रुपैयाँमा ६० जीबी ३० दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी १ वर्षका लागि ९ हजारमा ७ सय २० जीबी प्याक उपलब्ध छ ।
यसलाई प्रतिमहिना ६० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ४ सय रुपैयाँमा १५ दिनका लागि ६० जीबी प्याक लिन सकिने कम्पनीका प्रवक्ता राजेश जोशीले बताए ।
त्यसैगरी होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत १ हजार २ सयमा १ सय २० जीबी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि १३ हजार ५ सयमा मा १,४४० जीबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १ सय २० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ६ सय रुपैयाँमा १५ दिनका लागि १२० जीबी प्याक लिन सकिने कम्पनीले जनाएको छ ।
सरकारी संस्थागत प्याकेजमा ३ हजार ६ सय ५० र २ हजार १ सय मा ३० दिनका लागि भिन्न भिन्न प्याकेज कम्पनीले ल्याएको छ । प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुट हुने कम्पनीले जनाएको छ ।