एनआरएनएको निर्वाचनका लागि सात सदस्यीय समिति «

एनआरएनएको निर्वाचनका लागि सात सदस्यीय समिति


गैर आवासिय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनका सम्बन्धमा देखिएका असन्तुष्टी सम्बोधन गर्न संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षता शनिबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औं बैठकले घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । संघको आगामी नेतृत्व चयनका लागि निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन र महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टी सम्बोधन गर्न ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको हो ।
समितिका सदस्यहरुमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष पन्त रहेका छन । उच्चस्तरीय समितिले संघको विधानअनुरुप २६ जनवरी २०२२ सम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरि संघका अध्यक्ष पन्तमार्फत निर्वाचन समिति समक्ष पेश गर्ने जनाइएको छ ।
बैठकले २८ फेब्रुअरी २०२२ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीको निर्वाचन गर्ने निर्णयसमेत गरेको छ । बैठकले आगामी १० औं महाधिवेशनमा पेश हुने महासचिव डा. हेमराज शर्माको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गरेको जानकारी गराएको छ ।
सहमति र सहकार्यमा निर्वाचन कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक वातावरण तयार गर्ने संस्थापक अध्यक्ष, प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकार, पदाधिकारीलगायत सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरिएको छ । संघको स्थायित्व नै विश्वभर रहेका गैरआवासीय नेपालीको गौरवको विषय भएको मनन गर्दै हालसम्मका समग्र आपसी मतभेद बिर्सेर निर्वाचनमा आ–आफ्नो स्थानबाट सहयोग, समर्थन र सहभागी भइदिन राष्ट्रिय समन्वय परिषद, उम्मेदवार, मतदाता तथा शुभचिन्तकलाई अनुरोध गरिएको छ । महाधिवेशनमा मतदान तथा उम्मेदवार बन्नका लागि अति आवश्यक र अनिवार्य फेस भेरिफिकेसन (सेल्फी रजिष्ट्रेशन) गर्न सबै महाधिवशेन प्रतिनिधिलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्