राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा शीर्ष नेतृत्वलाई «

राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा शीर्ष नेतृत्वलाई

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छनोटका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको प्रदेश इञ्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष दाहाल तथा नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मंगलबार उम्मेदवार छनोट गर्ने जिम्मा पाएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । नेकपा(एमाले)सँग संयुक्त रुपमा निर्वाचनमा जाने भएकाले माओवादी केन्द्रले १४ उम्मेदवारमात्र उठाउने भएको छ ।
प्रदेश इञ्चार्जलाई एक उम्मेदवार छनोट गर्न तीन तीन जनाको दरले सिफारिश गर्न दिइएको निर्देशनअनुसार सम्भाव्य उम्मेदवारको नाम प्राप्त भएको जानकारी दिँदै भुसालले मंगलबार उम्मेदवारको टुंगो लाग्ने बताइन् ।
एमालेबाट २९ र माओवादी केन्द्रबाट १४ जना राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाइने सहमति दुईदलीय कार्यदलले गरेको छ । सोही आधारमा सबै वर्ग र क्षेत्र मिलाएर उम्मेदवार छनोट गरिने भुसालको भनाइ छ ।
पार्टीमा लामो समयदेखि योगदान गरेका, अवसर नपाएका, शहीद र बेपत्ता परिवारलाई पहिलो प्राथमिकतामा राखिने माओवादी केन्द्रले जनाएको छ । राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोटका लागि एमालेको पनि स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठकले आजै उम्मेदवारको अन्तिम टुंगो लगाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्