Logo

कोरोना संक्रमण दर बढ्यो, सावधानी अपनाऔं

एक साताअघि पनि प्रतिदिन ६.४६ प्रतिशत रहेको कोरोना संक्रमण अचानक ३० प्रतिशत नाघ्न पुग्नुमा नागरिकको पनि हेलचेक्राई देखिन्छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार १० हजार ४ सय १२ पीसीआर परीक्षणमा ३ हजार ७ सय ३ र ४ हजार १ सय ४४ एन्टिजेन परीक्षणमा ९ सय ३३ जना गरी ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तर, सँगसँगै पछिल्लो २४ घण्टामा ३ सय ५० जना कोरोना संक्रमणमुक्त पनि भएका छन् भने कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । कोरोनाको तेस्रो लहर बढी संक्रामक देखिएका कारण प्रधानमन्त्रीले विज्ञहरूलाई बोलाएर शनिबार सल्लाह पनि गरेका छन् ।
तर, सरकारको तदारुकताप्रति भने नागरिक तहमा विश्वास छैन । त्यसैले सरकारले यथाशक्य छिटो जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागू गराउने तथा स्थानीय तहलाई बढी जिम्मेवार बनाउन आवश्यक छ । यदि हेलचेक्र्याइँका कारण अघिल्लो लहरमा झैं संक्रमण अस्पतालहरूले थेक्नै नसक्ने गरी बढ्यो भने नागरिकको मृत्यु संख्या बढ्ने र त्यसका कारण बन्दाबन्दी गर्नुपर्दा अर्थतन्त्रले धान्न नसक्ने हुनेछ । तसर्थ, सरकारले स्थानीय तहसँगको सहकार्यमा अर्थतन्त्रलाई धक्का नपर्ने गरी यथाशीघ्र संक्रमण दरलाई काबुभित्र राख्न अत्यावश्यक छ । सरकारले पहिलो र दोस्रो लहरजस्तै गरी समुदायमा संक्रमण नफैलियोस् भनेर सिमानामै कडाइका साथ प्रस्तुत हुनु अत्यन्त आवश्यक छ । किनकि संक्रमितलाई छुट्ट्याएर राख्न सकिँदा संक्रमण फैलिनबाट रोक्न सकिन्छ ।
त्यसैले सिमानामै कडाइ गर्न आवश्यक छ । साथै, संक्रमण फैलिहालेको खण्डमा अस्पतालहरूमा तयारी अवस्थामा रहनु पनि आवश्यक छ । स्थानीय तहहरूले पहिलो तथा दोस्रो लहरमा नै बनाउने भनेका आइसोलेसन सेन्टर तथा होल्डिङ सेन्टरको अवस्था तत्काल स्वास्थ्य मन्त्रालयमार्फत निगरानी गरेर तयार राख्न पनि आवश्यक छ । स्थानीय तहका साथै प्रदेश सरकारलाई पनि मुख्यतः सीमा नाका र प्रवेश बिन्दुलाई व्यवस्थापन गर्ने कुरालाई जिम्मेवार बनाउनुपर्छ । संघ, प्रदेश र स्थानीय तहको समन्वयमा सीमा नाकाहरूमा होल्डिङ सेन्टर सञ्चालन र व्यवस्थापन गर्ने, चौबीसै घण्टा हेल्थ डेस्क सञ्चालन गर्ने, नाकाबाट भित्रिएका सम्पूर्ण व्यक्तिहरूको डिजिटल अभिलेख राख्ने, संक्रमितहरूको पहिचान गर्नेजस्ता कार्यमा तदारुकता देखिएन भने फेरि बन्दाबन्दीको अवस्थालाई नकार्न सकिन्न ।
यदि बन्दाबन्दी गर्नुपरेको खण्डमा यसपटकको बन्दाबन्दीले बिस्तारै चलायमान हुन लागेको अर्थतन्त्रलाई नराम्ररी धक्का दिनेछ । यसै पनि चालू आर्थिक वर्षमा ४ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि नहुने विश्व बैंकलगायतको प्रक्षेपण छ भने बन्दाबन्दीले आपूर्ति श्रृंखलामा पार्ने नकारात्मक असरले मूल्यवृद्धि पनि दोहोरो अंकमा उक्लने तथा रोजगारी पनि संकटमा पर्ने देखिन्छ । किनकि हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० हजार ५ सय ३६ जना होम आइसोलेसनमा र १ हजार ४८ जना संस्थागत आइसोलेसन (अस्पताल) मा छन् । अस्पतालमा रहेकामध्ये पनि १ सय १९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा छन् । पहिलो लहरदेखि हालसम्ममा कोरोना संक्रमणका कारण ११ हजार ६ सय १७ जनाले नेपालमा जीवन गुमाइसकेका छन् । कोरोनाको संक्रमण पनि मुलुकका प्रमुख आर्थिक केन्द्रमा बढी देखिन्छ ।
किनकि पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १ हजार ५ सय ९१, ललितपुरमा ४ सय ८६, भक्तपुरमा १ सय ४२ जना गरी उपत्यकामा २ हजार २ सय १९ जनामा संक्रमण पुष्टि भएको छ भने चितवनमा २ सय ५, सुनसरीमा १ सय १६, कैलालीमा १ सय ७, मोरङमा १ सय ४, मकवानपुरमा ८३, कास्कीमा ७३ र धनुषामा ६९ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकले देखाएको छ । यसरी एक साताअघि पनि प्रतिदिन ६.४६ प्रतिशत रहेको कोरोना संक्रमण अचानक ३० प्रतिशत नाघ्न पुग्नुमा नागरिकको पनि हेलचेक्राई देखिन्छ । किनकि गत वर्षको दोस्रो लहरका बेला उच्च मापन भएको २५ प्रतिशतभन्दा बढी प्रतिशतको संक्रमण तेस्रो दहरको सुरुमा नै हुन चिन्ताको विषय हो । नागरिकले पनि जनस्वास्थ्यका मापदण्ड पालना गरेर तथा खोप लगाएर सुरक्षित हुन आवश्यक छ । महामारीमा जीवनको सुरक्षा गर्नु सरकारको दायित्व त हो नै, नागरिक पनि सचेत भए महामारीसँग लड्न सहज हुनेछ । अन्यथा बन्दाबन्दीको विकल्प छैन, जुन अर्थतन्त्रले थेग्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्