कोरोना रोकथामका लागि कांग्रेसको ध्यानाकर्षण

सरकारलाई नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा ध्यानाकर्षणपत्र बुझाएको छ । कांग्रेस सभापति शेरबहादुर नेतृत्वको वर्तमान सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई बिहीबार कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आठ बुँदे ध्यानाकर्षणपत्र बुझाएकी हुन् ।
सबै नागरिकलाई कोरोना भाइरसको खोप पुर्याउन, परीक्षणको दायरा बढाएर समयमै कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्न, वृद्ववद्वा, दीर्घरोगी र बालबालिका बढी जोखिममा पर्ने हुँदा उच्च प्राथमिकतामा राख्न कांग्रेसले माग गरेको छ ।
यस्ता छन् कांग्रेसका माग
१) परीक्षणको दायरा बढाई समयमै कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्नुपर्ने ।
२) वृद्ववृद्धा, दीर्घरोगी र बालबालिका बढी जोखिममा पर्ने हुँदा उच्च प्राथमिकतामा राख्ने ।
३) नेपालमा तत्काल सबै नागरिकसामु खोप र बुष्टर पु-याउनुपर्ने दायित्व र प्राथमिकता नेपाल सरकारको भएको हुँदा पर्याप्त खोप र बुष्टरमा सर्वसाधरणको सहज र सरल पहुँच पु-याउन सम्बन्धित सबै संयन्त्रलाई परिचालन गर्नका लागि निर्देशन दिने ।
४) नयाँ भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर राख्दै देशभरीका स्वास्थ्य केन्द्र, अस्पतालहरूमा पर्याप्त तयारीका लागि सरकारबाट सक्दो सहयोग प्रदान गर्ने ।
५) स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सुरक्षाकर्मी एवं कोरोना रोकथामका लागि खटिरहनुभएका ‘फ्रन्टलाइनर’ लाई प्रोत्साहन स्वरुप कोरोना सुविधारराहत प्रदान गर्दै सर्वसाधारणलाई समेत कोरोना बीमाको व्यवस्था गर्ने ।
६) नयाँ भेरियन्ट फैलन नदिन सिमामा हेल्थ डेक्स, होल्डिङ सेन्टररआइसोलेसन सेन्टरको समयमा व्यवस्थापन गर्न केन्द्र, प्रदेश र स्थानीय तहहरूसँग समन्वय गर्ने ।
७) कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको तर्फबाट तुरुन्त योजना बनाई कार्यान्वयन गर्ने–गराउने ।
८) कोरोना भाइरसलाई फैलन नदिनका लागि आफू र अरुको जीवन रक्षाका लागि जनचेतना कार्यक्रम गरी न्यूनतम मापदण्ड पालना गर्न गराउन कडाईका साथ पहल गर्ने–गराउने ।
।