निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेका बेला निर्वाचन कसरी गर्ने र कहिले गर्ने भन्ने विषयमा छलफल गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आशन्न राष्ट्रिय सभा निर्वाचन र त्यसपछि हुने स्थानीय तहको निर्वाचनका लागि छलफल गर्न बैठक बोलाइएको हो ।
शुक्रबार बस्ने बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरुलाई निमन्त्रणा गरिएको छ । बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन, हाल जारी रहेको मतदाता नामावली संकलन र स्थानीय तहको मिति तय गर्नेबारे छलफल हुने बताइएको छ । आयोगका पदाधिकारीले गत पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय भने गरेको छैन । यसअघि सरकारको तर्फबाट स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न मंगलबार महान्यायाधिवक्ता खम्मबहादुर खाती निर्वाचन आयोग पुगेका थिए ।
यसैबीच, नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ । एक साताअघि कोरोना संक्रमितको संख्या दैनिक ५ सय भन्दा कम रहेकोमा अहिले दैनिक ३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
बुधबार ा ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ । पुस १८ गते आइतबार २ सय १६ जनामात्रै संक्रमित थपिएकामा त्यसयता निरन्तर संक्रमितको संख्या बढ्दै गएको छ ।