लोकतन्त्रको आवरणमा लुटतन्त्र : कमल थापा

कञ्चनपुर- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम रहेको बताएका छन् । मिडिया नेपाल कञ्चनपुरले शनिबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनस्तरमा सुधार नभएको बताउँदै जनताले राष्ट्रको परिवर्तनको अनुभूति गर्न नपाएको बताए ।
उनले गरिबी र बेरोजगारी पहिलेको भन्दा विकराल हुँदै गएको बताउँदै सरकारले जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाए । सरकारले सीके राउतसँग गरेको सम्झौता शंकास्पद रहेको बताउँदै उनले राष्ट्रिय अखण्डता टुटे सामाजिक एकता र सद्भाव खल्बलिएर देश धार्मिक द्वन्द्वमा पर्ने बताए ।
राष्ट्र विखण्डनको विषयलाई जनताको अभिमतबाट सम्बोधन गर्ने कुरा नेपाली जनतालाई कदापी स्वीकार्य नहुने बताउँदै उनले उसबारे एक हप्ताभित्र सरकारको आधिकारिक धारणा आउनुपर्ने बताए । “जनतालाई कुनै किसिमको शंका हुनु हँुदैन,” उनले भने, “यसबारेमा सरकारको धारणा सार्वजनिक हुनुपर्छ ।” यसैगरी नेपालका नदीहरुमा उच्च बाँध नबनाई पानी जहाज चलाउन नसकिने उनले बताएका छन् । “पानी जहाजलाई यातायातको सस्तो साधनका रुपमा मात्रै लिनु हुँदैन,” थापाले भने, “यसलाई सरकाले राष्ट्रिय हितका विषयका रुपमा लिनुपर्छ ।”