Logo

सत्तारुढ गठबन्धन निर्वाचन नगर्न खोज्दैछ : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्नेमा सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागिरहेको आरोप लगाएका हुन् । सोमबार संखुवासभाको खाँदबारीमा आयोजित पार्टीको आठौं जिल्ला अधिवेशनमा उनले सरकार निर्वाचनबाट डराइरहेको र लुटमारमा लागि परेको दावी गरे । ओलीले २०५९ सालमा स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय तह पंगु भएको र अहिलेको सरकारले पनि स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाएर त्यस्तै हालतमा पु-याउन खोजेको तर्क गरे ।
एमाले अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नक्कली बामपन्थीको संज्ञा दिँदै त्यहाँ गएका पार्टीका नेता, कार्यकर्ताहरुलाई एमालेमा फर्कन पनि आह्वान गरे । दक्षिणपन्थीहरुको सेवामा समर्पित सो पार्टीमा गएकाहरुलाई नअलमलिईकन एमालेमा आउनुपर्ने उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले विकास र समृद्धिको अभियानलाई तीव्रता दिएपछि देशीविदेशी प्रतिक्रियावादीहरुले आफू नेतृत्वको सरकार हटाएको दाबी गरे । कार्यक्रममा बोल्दै नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन एमालेलाई आगामी निर्वाचनमा नेपाली जनताले एकल बहुमत दिने दावी गरे ।
कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर आएका जिल्ला तहका नेताहरुलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्