सुन्तला खेती प्रविधिसम्बन्धी स्थलगत तालिम «

सुन्तला खेती प्रविधिसम्बन्धी स्थलगत तालिम

पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा सुन्तला जात फलफूल खेती प्रविधि सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र पर्वतको आयोजनामा १८ र १९ पुसमा सञ्चालन भएको तालिमको कृषि प्रसार अधिकृत विश्वास काफ्ले, बाली संरक्षण अधिकृत नमोनारायण शर्मा, म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डे र पर्वतका प्रेमप्रसाद आचार्यले सहजिकरण गरेका थिए ।
२५ जना कृषक सहभागी भएको तालिममा पछिल्लो समय सुन्तला जात फलफूल खेतीमा देखिएको चाइनिज सिट्रोस फ्रुट फलाई र सिट्रोस ग्रिनको कारण र नियन्त्रणको उपायका विषयमा प्राविधिक, सैद्धान्तिक र व्यवहारिक ज्ञान सीप प्रदान गरिएको थियो । सहभागीलाई बोडो मिक्सर बनाउन प्रयोग हुने निलो तुथो, चुना र झरेका सुन्तलाको दाना सुरक्षित व्यवस्थापन गर्ने पलास्टिक निःशुल्क वितरण गरिएको थियो ।
औंसा परेर झरेका सुन्तलाको दाना सुरक्षित व्यवस्थापन गर्ने र पासो थाप्ने ज्ञान, सीप र प्रविधि सिकाउन नमूना प्रर्दशनी पनि गरिएको थियो । यसैगरी स्रिट्रोस फ्रुट फलाई मार्ने खाद्यपासो प्रोटिन बेट र झरेका दाना पलास्टिकको बोरामा राखेर व्यवस्थापन गर्ने विषयमा जानकारी गराइएको थियो ।
पाक्ने बेलामा दाना झर्ने र बोट सुक्ने समस्या धौलागिरी क्षेत्रमै धेरै सुन्तला खेती हुने बाँसखर्कमा पनि देखिएको छ । सुन्तला जातका फलफूलको दानाभित्र पसेको औंसाले असोजदेखि पुससम्म पहेंलो बनाई दाना भुइमा खसाल्छ ।
आगामी वर्ष यस्तो समस्या हुन नदिन झरेको दाना व्यवस्थापन गर्ने र चैत वैशाख महिनामा प्रोट्रिनबेटसँगै विषादी मिसाएर बोटमा छर्कनुपर्ने कृषि प्राविधिकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्