रोजगार होइन स्वरोजगार हुनुहोस्ः मन्त्री अथक

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले युवाहरू स्वरोजगार हुनुपर्ने बताए । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अथकले रोजगारीको मात्र उद्देश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताए ।
अरूको अधिनमा रहेर रोजगार गर्नुभन्दा आफ्नै क्षमताले स्वरोजगार हुन बढी लाभदायी हुने उल्लेख गर्दै मन्त्री अथकले भने, “रोजगार होइन स्वरोजगार हुने प्रयास गरौं ।”
राष्ट्रिय युवा परिषद् र आईडिया स्टुडियो नेपालको साझेदारीमा सञ्चालित ‘युवा नवप्रवर्तन÷इन्क्युवेसन नीति प्रयोगशालामा आधारित’ पाँचदिने तालिमको समापन समारोहमा सहभागी हुन ललितपुर पुग्नुभएका मन्त्री अथकले देशभित्रै स्वरोजगार हुन सम्भव छ भन्ने मान्यता स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताए ।
तालिममा सहभागी सातै प्रदेशका युवाहरूलाई सम्बोधन गर्दै मन्त्री अथकले विदेशमा गएर जस्तो सुकै काम गर्न तयार युवा पुस्ता स्वदेशमा श्रम गर्न भने लजाउने गरेको बताउनुभयो । नेपाल सरकारद्वारा सञ्चालित युवा लक्षित कार्यक्रमको सदुपयोग गर्दै स्वदेशमै आत्मनिर्भर हुन मन्त्री अथकले युवाहरूलाई आग्रह समेत गरे ।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगाना, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामालगायत सातै प्रदेशका युवाहरूको सहभागी थियो ।