Logo

सबै तहका निर्वाचनहरू समयमै सम्पन्न हुने

गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचनहरू समयमै सम्पन्न हुने बताएका छन् ।
गृहमन्त्री खाँणले तीनवटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरूको छनौंट हुने गरी सबै तहको निर्वाचन हुने बताए । गृहमन्त्री खाँणले भने, ‘सबै निर्वाचनहरू निर्वाचनको समयमै सम्पन्न हुनेछन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ । निष्पक्ष, स्वतन्त्र, भयमुक्त वातावरणमा जनताले मत दिएर, जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरूको छनौट हुने खालको निर्वाचन समयमै सम्पन्न गरिनेछ ।’
गृहमन्त्री खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने विश्वास पनि व्यक्त गर्नु भयो । उनले एमसीसी देश र जनताकै लागि भएको तर्क गर्दै त्यसमा असहमत हुने दलहरूलाई पनि सहमतिमा ल्याएर अघि बढाउने बताए ।
उनले एमसीसी कुनै सैन्य गठबन्धनका लागि नभएको र अनुदानको रुपमा आएको सो रकमलाई सदुपयोग गरेर अघि बढाउनुपर्ने मान्यतामा सरकार दृढ रहेको दोहो-याए । गृहमन्त्री खाँणले भने, ‘नेपाल सरकारले नै प्रस्तावित गरेको, त्यो प्रयोजन कुनै सैन्य गठबन्धन हुँदै होइन । यो नेपालको भौतिक विकासको लागि नै हो । जलस्रोतको धनी मुलुक नेपालमा अहिले अहिले प्रस्तावित भएका, निर्माणाधिन रहेका जलविद्युत आयोजनाहरूबाट विद्युत उत्पादन भइसकेपछि त्यो खपत गर्न यसलाई निर्यात गर्नका निम्ति पनि ट्रान्समिटर टावर चाहिन्छ नै । र, अघि भनेजस्तै त्यसको व्यवस्थापन गर्नका लागि पनि थुप्रै स्रोत साधन चाहिन्छ । र त्यो विद्युत्को ट्रान्समिटर व्यवस्थापन गर्दाखेरी सडक विस्तारका लागि नै यो परियोजना ल्याइएको हो । यो फेरी हामीले तिर्नुपर्ने रकम होईन । यो त अनुदान हो । अनुदानको रुपमा आउने यो रकमलाई नेपालीहरूले सदुपयोग गर्नु पर्छ । र यसलाई सदुपयोग गर्न सक्छौं भन्ने हाम्रो विश्वास हो । त्यसकारणले यो अगाडि बढछ । यसमा सहमत नहुने साथीहरूलाई पनि हामीले विस्तारै सहमत बनाउन सक्नुपर्छ भन्ने नै हाम्रो धारणा छ । मिलेर अघि बढाउने । यो देशकै लागि हो । सबै जनताकै लागि हो । त्यसैले सबै पार्टीहरूको सामूहिक प्रतिवद्धताबाट यो अघि बढाउने हो ।’
गृहमन्त्री खाँणले एमसीसी सरकारले नै प्रस्तावित गरेको परियोजना भएको भन्दै यसलाई सबै दलहरूको सामूहिक प्रतिबद्धताबाटै अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्