पर्यटन विकासका लागि १५ किलोमिटर पदमार्ग बन्ने

दोलखा- पर्यटन पूर्वाधार विकास लागि दोलखाको तामाकोसी गाउँपालिकाले १५ किलोमिटर पदमार्ग निर्माण गर्ने भएको छ । पालिकाले आफ्नै आन्तरिक लगानीमा वडा नम्बर ४ मालुमा रहेको कालिदेवी मन्दिर हुँदै वडा नम्बर ६ च्यामाको देउराली हिलेगढीसम्म पदमार्ग निर्माण गर्न लागेको हो । पहिलो चरणमा चालु आर्थिक वर्षको बजेटबाट पूरा हुने गरी ४ किलोमिटरका लागि ठेक्का सम्झौतासमेत भएर काम सुरु भएको छ ।
उक्त पदमार्ग निर्माणको गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले शिलान्यास गरेका छन् । पदमार्ग शिलान्यास गर्दै अध्यक्ष पोखरेलले गाउँपालिकाको पर्यटन विकास पूर्वाधारलाई थप विकसित गर्दै पालिकामा आन्तरिक पर्यटक तथा पैदलयात्री वृद्धि गर्नका लागि पदमार्ग निर्माण गर्न लागेको बताए ।
पालिकाले उक्त पैदलमार्ग निर्माण गर्न पाँच करोड ७४ लाख ३५ हजार चार सय रुपैयाँबराबरको ठेक्का सम्झौता गरेको छ । गाउँपालिकाकै उच्च ठाउँ निर्माण हुने पैदलमार्ग निर्माणको जिम्मा लुम्बिनीबन्दन भगवती कुस–जेभी काठमाडौंलाई दिइएको छ । निर्माण कम्पनीले १८ महिनाभित्र काम सक्नेगरी ठेक्का सम्झौता गरेको हो । उक्त पैदलमार्ग सुविधासम्पन्न हुने बताइएको छ । पदमार्ग कालीदेवी मन्दिरदेखि देउराली गढी हिलेसम्म निर्माण हुनेछ ।
“अहिले जतातै गाडीको पहुँच पुग्यो, हिड्ने गोरेटो र पदमार्ग मासिए” उनले भने, “अब त राम्रो हिड्ने पदमार्गको आवश्यकता खड्किने अवस्था आएकाले गाउँपालिकाले डाँडैडाँडा निर्माण गर्ने गरी पदमार्ग निर्माण थालेको हो ।” यो पदमार्गले धार्मिक स्थल, पुराना गढी, हिमाल र नदीलगायतका प्राकृतिक दृश्यावलोकनका लागि पनि महत्वपूर्ण रहेको छ । पदमार्गका विभिन्न ठाउँमा वनभोज स्थल र खेल मैदानको समेत निर्माण गरिएको छ ।
पदमार्ग फलामे रेलिङ, खानेपानीको सुविधा तथा शौचालय समेतको सुविधा हुनेगरी निर्माण गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्काले जानकारी दिइन् । उत्तर दक्षिण राजमार्गको नजिकै पर्ने भएकाले पदमार्गका लागि राजधानी र तराईका पर्यटक र आन्तरिक पर्यटनका लागि पनि महत्वपूर्ण हुने उनले बताइन् । निर्माण व्यवसायी सुन्दर कार्कीले पदमार्ग तोकिएको समय अगाडी नै निर्माण पूरा गर्ने प्रतिवद्धता गरे ।
पदमार्गमै पर्ने च्यामा देउराली नजिक रहेको ऐतिहासिक गढी संरक्षण र गढीमाई मन्दिर पुनर्निर्माण भएको छ । घोरपानीमा पोखरी निर्माण, खेलमैदान र वनभोज स्थल बनेको छ । गाउँपालिकाले पर्यटनकै लागि लक्षित गरी एक वडा एक पार्क निर्माण गरेको छ ।