आधुनिक बन्दै झापाका कृषक «

आधुनिक बन्दै झापाका कृषक

झापा गाउँपालिका–३का चन्द्रबहादुर बस्नेतले १५ वर्षअघि विद्यालयमा पढेका थिए, नेपाल ‘कृषिप्रधान मुलुक’ हो । तर, कृषिप्रधानको अर्थ बुझ्न उनलाई इजरायल नै पुग्नु प¥यो ।
चार वर्ष अघि साना किसान सहकारी मार्फत् कृषि प्रशिक्षार्थीका रुपमा इजरायल गएपछि बस्नेतले थाहा पाए, “देश कृषिप्रधान हुनु भनेको कृषिमा आत्मनिर्भर हुनु र, कृषिप्रधान मुलुकले प्रशस्त खाद्यान्न उब्जाएर अन्य मुलुकमा समेत निर्यात गर्नु रहेछ ।”
इजरायलमा रहँदा उनले जोर्डन भ्यालीको किन्नरेट एकेडेमीको कलेजमा अध्ययनसँगै आधुनिक प्रविधिमा व्यवसायिक केरा खेतीमा काम गर्ने अवसर पाए । उनको अध्ययनको विषय पनि केरा खेती नै थियो । एक वर्षसम्म सीप सिकेर नेपाल फर्केका बस्नेतले अहिले झापा गाउँपालिका–३ मा साधना संस्कृति नमुना कृषि फार्म दर्ता गरी ३५ विगाह क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् । उनी जग्गा पाएसम्म खेती विस्तार गर्ने र मुलुकलाई केरामा आत्मनिर्भर बनाउने योजनामा छन् ।
बस्नेतले केरा खेतीको बारेमा सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान हासिल गर्ने अवसर पाए, त्यो पनि इजरायलको सबैभन्दा ठूलो केरा बगान इन्गेभ किबुज बनाना फार्ममा । “हप्ताको एकदिन शुक्रबार पढ्नुपथ्र्यो” उनले भने, “अरु दिन प्राक्टिकल हुन्थ्यो ।” त्यहाँ आफूले केराको विरुवा रोप्ने, केराको बच्चा सेलेक्सन गर्ने, बच्चालाई इन्जेक्सन लगाउने जस्ता विषयमा ज्ञान लिन पाएको अनुभव सुनाए ।
इजरायलको जस्तो आधुनिक प्रविधिमा व्यावसायिक केरा खेती थालेका उनी अरुको लागि उदाहरणीय बनेका छन् ।
बस्नेत आफूमात्र स्वरोजगार बनेका छैनन् । यतिबेला उनको पुरै गाउँ केरा खेतीमा लागेको छ । बस्नेतले गरेको देखेर झापा गाउँपालिकाका १४ जना कृषकले केरा खेती सुरु गरेका छन् । झापा गाउँपालिका –३ मा मात्र १०५ हेक्टर क्षेत्रफलमा केरा खेती लगाइएको छ । उनले गाउँलेलाई केरा खेतीमा आकर्षण गर्न उनले निःशुल्क बिरुवा उपलब्ध गराउने, रोप्ने ज्ञान दिने गरेका छन् ।
आफ्नो २ विगाह जग्गा रहेका उनले बाँकी जग्गा भाडामा लिएका छन् । भाडा वापत वार्षिक प्रतिविगाह ४५ हजार रुपैयाँ बुझाउँदै आएका छन् । बिस्तारै कृषि क्षेत्र उदाउँदै गएको बताउने उनी, कृषि व्यवसायका लागि लगनशिलता र धैर्यता आवश्यक पर्ने बताउँछन् । २५ लाख रुपैयाँ लगानी गरेर खेती सुरु गरेका बस्नेतको खर्च कटाएर प्रतिमहिना २ लाखसम्म आम्दानी गर्दै आएका छन् ।
खेतीमा बस्नेतलाई सहयोग गर्ने उद्देश्यले झापा गाउँपालिकाले गत वर्ष केरा पकेट क्षेत्र घोषणा गरी केरा संकलन केन्द्र निर्माण गरिदिएको छ । उनले काठमाडौंको कम्पनीबाट ल्याएर टिस्यू कल्चर प्रविधिबाट उत्पादित बिरुवा रोपेका छन् । फार्ममा जी–नाइन, विलियम हाइब्रिड र मालभोग, रातो केरा जातका केरा छन् । उनले उत्पादन गरेको केरा काठमाडौँ, पोखरासम्म पुग्ने गरेको छ । नेपालमा केराको बोट ४÷५ वर्ष टिक्ने गरेपनि इजरायलमा एउटा बोटले १० वर्षसम्म आम्दानी दिने गरेको उनले बताए ।
केरा खेतीको भविष्य राम्रो देखेर आत्मविश्वास लिएका युवा कृषक बस्नेतले बालुवा घारीमासमेत केरा फलाएका छन् । फार्ममा ७ जना युवालाई रोजगारी दिएका बस्नेतले आवश्यकताअनुसार ज्यालादारीमा समेत कामदार राख्ने गरेका छन् । कृषि पेशाप्रतिको सम्मान, बजेट विनियोजन, कृषि उद्योगको विस्तार, प्रविधिको विकासका कारण इजरायलले कृषि क्षेत्रमा चमत्कार गरेको सुनाउँछन् बस्नेत ।

प्रतिक्रिया दिनुहोस्