Logo

देशभर मनाइयो शिवरात्रि

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी सोमबार देशभर मनाइयो । शिवरात्रिमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
माघमा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न सोमबार देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको थियो ।
यस वर्षको शिवरात्रि सोमबार परेकाले विगतभन्दा दर्शनार्थीको संख्या बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनले भने लामको राम्रो व्यवस्थापन हुन नसक्दा ६ घण्टासम्म उभिन बाध्य हुनुपरेको गुनासो गरेका थिए । कोषले ६ हजार सुरक्षाकर्मी र पाँच हजार स्वयंसेवक खटिएको बताए पनि लामको बीचबीचमा मानिस छिर्दा धेरै समय उभिन बाध्य हुनुपरेको भक्तजनको भनाइ थियो ।
मूल मन्दिर छिर्ने ढोकाहरूमा व्यवस्थित नगरिँदा एकैपटक व्यवस्थापन गर्न दिउँसो प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । मन्दिर परिसरमा कोष र नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी श्रीमती सङ्घलगायत संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, चिया, पानी वितरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्