६ वर्षमा पनि निर्माण सम्पन्न भएन्न निजी आवास «

६ वर्षमा पनि निर्माण सम्पन्न भएन्न निजी आवास


तोकिएको समयमा निजी आवास पूरा नभई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समय सकिएको छ । पाँच वर्षभित्र निजी आवासको निमांण सक्ने लक्ष्य १० पुस २०७२ मा गठन गरेको प्राधिकरणले गरेको भए पनि थप १ वर्ष बित्दा पनि निर्माण सम्पन्न नभई प्राधिकरणको समय सकिएको हो । अनुदान सम्झौता गरेका लाभग्राही ८ लाख २९ हजार ६ सय ६७ घरमध्ये पुनर्निर्माण सम्पन्न भएका (तेस्रो किस्ता लिएका) ७ लाख ३ हजार ३ सय ७ घर रहेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट भइरहेका विभिन्न कार्य, स्रेस्ता तथा कागजात राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिसकिएको छ । प्राधिकरणको कार्यकाल पुस ९ गते सकिएको छ । तत्कालीन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने कोभिड–१९ का कारण केही अनुदान सम्झौता भएका निजी आवासको निर्माण ढिलाइ भएको हो । उनले भने, “सहरी विकास मन्त्रालयअन्तर्गतको कार्यान्वयन एकाइले निर्माण गरिरहेको छ । चैतभित्र सबै निर्माण पूरा हुन्छ ।” “प्राधिकरणकै पहिलेको निर्माण गर्ने संरचनाले निर्माणका लागि रहेकाले गर्दा समयमा नै निर्माण पूरा हुनेमा म विश्वस्त छु,” ज्ञवालीले भने ।
शुक्रबार गृहमन्त्री बालकृष्ण खाँडको उपस्थितिमा पुनर्निर्माण प्राधिकरण परिसरमा आयोजित ‘हस्तान्तरण तथा बहिर्गमन’ कार्यक्रममा बाँकी दायित्व तथा कागजात हस्तान्तरण गरिएको छ ।
बिहीबार नै भएको छुट्टै कार्यक्रममा पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी काठमाडौं महानगरपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको छ । रानीपोखरीमा आयोजित कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीको सम्पूर्ण संरक्षण दायित्व काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका थिए ।
पुनर्निर्माण तथ्यांक

पुनर्निर्माण लाभग्राही
अनुदान सम्झौता गरेका लाभग्राही: ८,२९,६६७
पहिलो किस्ता लिएका लाभग्राही: ८,२८,७६३
दोस्रो किस्ता लिएका लाभग्राही: ७,५०,४५९
तेस्रो किस्ता लिएका लाभग्राही: ७,०३,३०७

निजी आवास पुनर्निर्माण
पुनर्निर्माण सम्पन्न घर : ७,०३,३०७ (तेस्रो किस्ता लिएको आधारमा)

विद्यालय भवन
लक्ष्य– ७५५३, पुनर्निर्माण सम्पन्न– ६,६४७, पुनर्निर्माण जारी – ९३६

स्वास्थ्य संस्थाका भवन
लक्ष्य – ११९७, पुनर्निर्माण सम्पन्न – ७५१, पुनर्निर्माण जारी – ३५४

साँस्कृतिक सम्पदा
लक्ष्य– ९२०, पुनर्निर्माण सम्पन्न – ६०६, पुनर्निर्माण जारी – २८८

सरकारी भवन
लक्ष्य– ४१५, पुनर्निर्माण सम्पन्न – ३८८, पुनर्निर्माण जारी – २०

सुरक्षा निकायका भवन
लक्ष्य– २१६ (पुनर्निर्माण प्राधिकरणमार्फत्), पुनर्निर्माण सम्पन्न – २१६, पुनर्निर्माण जारी – ०

जोखिमयुक्त बस्तीका लाभग्राहीको व्यवस्थापन
जम्मा लाभग्राही– ४,७२०
सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यवस्थापन भएका – ३,४६२
सुरक्षित बस्तीका लागि सरकारी जग्गा प्राप्त गर्ने लाभग्राहीः ६२९
अन्य ढंगबाट जग्गा व्यवस्थापन गरेका – ६२९

भूमिहीन लाभग्राहीकोव्यवस्थापन
जम्मा लाभग्राही– १२,७५७
साविककै स्थानमा घर बनाउन अनुमति पाएका – ११,५८०
जग्गा खरिद अनुदान उपलब्ध गराउने निर्णय भएका – १,१७७
जग्गा खरिद अनुदान उपलब्ध गराइएका – ७५७
निर्माणकर्मी तालिम
करिब १ लाख जना

अनुभवप्राप्त इञ्जिनियर
करिब ६ हजार जना

प्रतिक्रिया दिनुहोस्