Logo

कुकुर पनि जुत्ताचप्पल चोरीमा !

दोलखा-पत्यार नलाग्न सक्छ, तर कुरा साँचो हो । कुकुर पनि चोरीमा संलग्न छ । दोलखा सदरमुकाम चरिकोटमा यस्तै घटना भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले एउटा पत्याउन गाह्रो तर पत्याउनै पर्ने घटना सार्वजनिक गरेको छ ।
समय–समयमा सर्वसाधारणले आफ्ना घरबाट जुत्ताचप्पल हराएको उजुरी प्रहरीकोमा आउने गरेको थियो । तर प्रहरीले चोर पत्ता लगाउन सकेको थिएन । आफ्नो घर बाहिर राखिएका जुत्ताचप्पल लगातार हराइरहेको स्थानीयको गुनासो आउन थालेपछि पत्ता लगाउने क्रममा प्रहरीले अनौठो तथ्य भेट्टाएको हो ।
अनुसन्धानबाट जिल्ला प्रहरी कार्यालय आसपास क्षेत्रमै चोरीका जुत्ताचप्पल ल्याउने गरेको पत्ता लागेको हो । प्रहरी कार्यालय क्षेत्रमा घुमिरहेका एक जोडी कुकुर नै चोरीको अनौठो घटनामा संलग्न भएको खुलेको छ । ती कुकुरले सदरमुकामस्थित विभिन्न स्थानबाट जुत्ता चप्पल संकलन गरी जम्मा गर्ने गरेको भेटिएको छ । ती जोडी कुकुरले करिब सय जोडी जुत्ताचप्पल चोरी गरेको तथ्य छ ।
रातको समयमा एक जोडी कुकुरले मुखमा च्यापेर ल्याएका जुत्ता चप्पल प्रहरी कार्यालय आसपासको नालामा छोड्ने गरेका थिए । त्यसबारे न त प्रहरीले नै चासो दिएका थिए, न त मालपोत आवतजावत गर्नेले नै ।
केही दिनअघि एउटा कुकुरले नयाँ देखिने पार्टी जुत्ता ल्याएर प्रहरी कार्यालय छेउको नालामा छोडिदियो । भोलिपल्ट उस्तै रङको र उही नम्बरको जुत्ता त्यहीँ ल्याएर छोडेको जिप्रका दोलखाका डिएसपी बासुदेव पाठकले देखेपछि जुत्ता चोर्ने कुकुर पत्ता लागेको हो ।
अधिकांश समय प्रहरी र मालपोत कार्यालय आसपास भेटिने जोडी कुकुरले करिब एक महिनाको अवधिमा एकसय वटा जुत्ताचप्पल चोरी गरेको पाइएको छ । “जुत्ता चप्पल चोरी हुने गरेको मौखिक गुनासो त आउने गरेको थियो,” दोलखाका प्रहरी प्रमुख डिएसपी पाठकले भने, “आँखै वरिवरी हुने कुकुरले त्यसरी जुत्ताचप्पल बोक्ला भन्ने अनुमान गरेका थिएनौं ।”
पाठक ८ महिनाअघि दोलखाको प्रहरी प्रमुख भएर आउँदा धेरैको गुनासो नै चोरीको घटनाको थियो । त्यो पनि दिउँसो हुने चोरी । तर त्यसयता चोरीमा संलग्न बालकहरू संलग्न भएको पत्ता लाग्यो । प्रहरीले यस अवधीमा चोरीका सामान सहित बालकहरू समेत पक्राउ ग¥यो । अहिले चोरीका घटनामा कमी आएको डिएसपी पाठकले बताए ।
चोरीका घटनाको श्रृंखला पत्ता लगाउँदै जाँदा चोरीमा कुकुर पनि संलग्न भएको खुलेको हो । पशुपंक्षी अस्पताल चरिकोटका वरिष्ठ पशुविकास अधिकृत ज्ञानबहादुर थापाले जुत्ता चप्पलको गन्ध मन पराउने बानी भएर त्यसरी जुत्ताचप्पल संकलन गरेको हुनसक्ने बताए ।
फेला पारिएका जुत्ताचप्पल बालबालिकाकादेखि खेलाडीका बुट, स्पोर्टस सुज र लेडिज जुत्ता चप्पलसम्म रहेका छन् । प्रहरीले २ बोरा त्यस्ता जुत्ता चप्पल संकलन गरी आफ्नो स्टोरमा सुरक्षित राखेको छ ।

प्रतिक्रिया दिनुहोस्