अर्थतन्त्रका सूचकमा सुधार ल्याऊ

अर्थतन्त्रका सूचकहरू नकारात्मक भइरहेका बेला सामान्य नागरिकलाई समेत असर गर्ने गरी बजारभाउ पनि बढ्न थालेको छ ।
पछिल्लो समय लगातार अर्थतन्त्रका सूचकहरू नकारात्मक देखिएका छन् । कोरोना कहरका कारण शिथिल भएको अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गर्दा त्यसका नकारात्मक असर हाल देखिन थालेका हुन् । चालू आवको पहिलो महिनाबाटै ओरालो लाग्न थालेको रेमिट्यान्स घट्ने क्रम चौथो महिनामा पनि कायम नै छ । गत आवभन्दा चालू आवको कात्तिकसम्ममा रेमिट्यान्स ७.५ प्रतिशतले घटेर ३ खर्ब १२ अर्ब ४२ करोड भएको छ । गत आवमा कोरोना कहरका कारण विश्वभरजस्तै बन्दाबन्दीको अवस्थामा हुन्डीजस्ता अवैध बाटो पनि बन्द भएका कारण औपचारिक बाटोबाट रेमिट्यान्स आउने क्रम राम्रो थियो । जसका कारण अघिल्लो वर्षको यसै अवधिमा रेमिट्यान्स ११.२ प्रतिशतले बढेको थियो । तर, चालू आवको साउनमा १८ प्रतिशतले घटेको रेमिट्यान्स, भदौमा ६.३ प्रतिशत तथा असोजमा पनि ७.६ प्रतिशतले घटेको थियो । जुन क्रम कात्तिकमा पनि जारी रह्यो । कोरोना कहरका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत आवमा उल्लेख्य रूपमा घटेसँगै रेमिट्यान्स आय चालू आवमा घट्न थालेको हो ।
तर, चालू आवमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बढ्न थालेका कारण रेमिट्यान्स आय आगामी आवमा भने नघट्न सक्छ । तर, चालू आवमा रेमिट्यान्स घट्नुका साथै मुलुकको व्यापारघाटा पनि उच्च हुँदै गएको छ । कोरोना कहरका कारण रोकिएका आयात बढ्न थालेको छ, जसका कारण मुलुकको शोधनान्तर घाटासमेत बढ्दै गएको छ । चालू आवको कात्तिकमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६५ करोडले बचतमा रहेको थियो । यसका साथै चालू आवमा चालू खातासमेत २ खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको छ । रेमिट्यान्स आय घटेका कारण विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको छ ।
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर कुल विदेशी विनिमय सञ्चिति रहेकोमा त्यसमा ११ प्रतिशतले कमी आई २०७८ कात्तिक मसान्तमा १२ खर्ब ४४ अर्ब ८५ करोड रहेको छ । आव २०७८-०७९ को चार महिनाको आयातलाई आधार मान्ने हो भने हाल रहेको विदेशी विनिमय सञ्चिति ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकको आकलन छ ।
यसरी समग्र अर्थतन्त्रका सूचकहरू ओरालो लाग्दा सरकारमा रहेका राजनीतिक दलहरू आफ्ना महाधिवेशनमा व्यस्त छन् । उनीहरूको चिन्ता र चासो अर्थतन्त्रको सुधारमा पटक्कै छैन । हुन त नेपालका राजनीतिक दलको लागि अर्थतन्त्र भनेको कुनै महत्वको विषय कहिल्यै पनि थिएन । २०४८ सालदेखिका केही वर्षहरूमा जति आर्थिक सुधार भए, त्यसैको आधारमा अझै पनि अर्थतन्त्र चलिरहेको छ । खुला बजार अर्थतन्त्रका विरोधी पनि बजारमा पसल थापेर मज्जाले कमाउन थालेका छन् ।
तर, खुला बजार अर्थतन्त्रलाई गाली गर्न भने छोडेका छैनन् । अर्थात् नेपाली राजनीतिक दलमात्र होइन, समाजमा नै अर्थतन्त्रको विषयमा खुला छलफल गर्नेभन्दा पनि राजनीतिक स्वार्थका लागि समर्थन वा विरोध गर्ने परम्परा रहिआएका कारण पनि अर्थतन्त्रको गतिलाई कसैले चासो नदिएको हो । त्यसैले वस्तु व्यापारघाटा कात्तिकमा ५ खर्ब ६८ अर्ब १७ करोड पुगेको छ । अनि सरकार भने आयातमा कडाइ गर्ने नाममा झन् अवैध व्यापारलाई प्रोत्साहन गर्न खोज्दै छ । यसरी अर्थतन्त्रका सूचकहरू नकारात्मक भइरहेका बेला सामान्य नागरिकलाई समेत असर गर्ने गरी बजारभाउ पनि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार २०७८ कात्तिकमा उपभोक्ता मुद्रास्फीति ५.३२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष कात्तिकमा मुद्रास्फीति ४.०५ प्रतिशत थियो । बजारमा भाउ बढ्न थालेपछि आपूर्ति सहजीकरणमा सरकारले सहयोग नगर्दा निश्चित आय भएका मध्यमवर्गीय नागरिकको जीवनयापन कठिन बन्दै छ । त्यसैले सरकारले बेलैमा सचेत हुन आवश्यक छ ।