Logo

कांग्रेस सभापतिका लागि दोस्रोपटक मतदान


नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा पुनः मतदान भएको छ । सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि मंगलबार पुनः मतदान भएको हो ।
दिउँसो ३ बजे सुरु भएको मतदान राति करिब १० बजे सकिएको थियो । निर्वाचनमा ४ हजार ५६२ जना महाधिवेशन प्रतिनिधिले भाग लिएका थिए । मतदान सकिएपछि राति नै मतगणना सुरु भएको थियो ।
पहिलो मतदानमा मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कुल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिन व्यवस्था छ । पुनः मतदान हुँदा भने बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुने कांग्रेस विधानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्