Logo

वैदेशिक रोजगारीमा जाने पाँच गुणा बढे

विगत २ वर्षदेखि न्यून रहेको वैदेशिक रोजगारीको श्रम स्वीकृति संख्या हाल आएरमा पुनः लयमा फर्किएको छ ।
गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने श्रमिकको संख्या पाँच गुणाले बढेको छ । कोरोना विरुद्धको खोप तथा पछिल्लो समय संक्रमण दरसमेत घट्दै गएपछि श्रम गन्तव्य देशमा श्रमिकको अभाव हुन थालेपछि नेपालबाट रोजगारीका लागि जान श्रम स्वीकृति लिने युवाको संख्या बढेको हो ।
गत वर्षको पहिलो ५ महिनामा ३३ हजार युवाले मात्र विदेश जान श्रम स्वीकृति लिएकोमा यो संख्या चालु आवको मंसिर २७ गतेसम्म १ लाख ९२ हजार पुगेको छ । वैदेशिक रोजगार विभाग ताहचल कार्यलयका अनुसार चालु आवको साउनमा २३ हजारले श्रम स्वीकृति लिएकोमा मंसिरमा सो संख्या ५२ हजार पुगेको छ । यो कोरोना संक्रमण हुनुअघि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने संख्या भन्दा बढी हो ।
विभागको ताहचल कार्यालयका कम्प्युटर ईन्जिनियर अर्जुन यादवका अनुसार चालु आर्थिक वर्षको ५ महिनामध्ये मंसिरमा सबै भन्दा बढी युवाले श्रम स्वीकृति लिएका छन् । यसैगरी अघिल्लो वर्षको मंसिरमा भने १२ हजार ४ सय ३१ जनाले मात्र श्रम स्वीकृति लिएका थिए । २ वर्ष मन्द रहेको वैदेशिक रोजगारी चालु आर्थिक वर्षको मंसिरसम्म निरन्तर बढेको तथ्यांकले पुन लयमा फर्कने संकेत गरेको छ । कोरोना संक्रमणअघि मासिक ४० हजारको हाराहारीमा युवा वैदेशिक रोजगार जाने गरेकोमा मंसिर महिनामा ५२ हजार पुगेको छ । सो संख्या कात्तिकमा ४० हजार रहेको थियो । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहचलले मंसिरको अन्तिम हप्तासम्म वैदेशिक रोजगारीमा जान १ लाख ९२ हजारले श्रम स्वीकृति लिएको जनाएको छ ।
कोरोना संक्रमणको अघिको सामान्य अवस्थामा मासिक रुपमा ४० हजार युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए । चालु आवको मंसिरमा समेत वैदेशिक रोजगारीमा जानेको संख्या बिगतको सामान्य अवस्थामा भन्दा बढी पुगेको छ । विभागका काठमाडौ कार्यालय ताहाचलका अनुसार कोरोना संक्रमणदरमा कमी आएपछि वैदेशिक रोजगारी जान श्रम स्वीकृति लिनेको संख्या बढेको जनाएको छ । कार्यलयका अनुसार राजधानीसहित देशभरका ७ श्रम कार्यालयबाट श्रम स्वीकृति लिने व्यवस्था गरेका कारण श्रमिकलाई सेवा लिन सहजसमेत भएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोना विरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमा फर्कन थालेपछि श्रम स्वीकृति लिनेको संख्या वृद्धि भएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङ वैदेशिक रोजगारी जाने प्रवृत्ति ३ वर्ष अघिको जस्तो नभएपनि खोप व्यवस्थापनका कारण जाने बढेको बताए । नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार बिगत ३ वर्षमा घटेको देखिएपनि अबका दिनमा भने यसले गति लिने विज्ञको भनाइ छ । बिगत ३ आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा रोजगारीमा जाने युवाको संख्या क्रमशः घटदो दर रहेको पाइएको थियो । प्रमुख स्रोत गन्तव्य खाडी राष्ट्रमा आएको कोरोना संकटका बीच आर्थिक मन्दी भएपछि वैदेशिक रोजगारमा जाने युवाको संख्या घटेको थियो ।
बिगत ३ आर्थिक वर्षमा प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमान भने सबै भन्दा बढी घटेको पाइएको छ । कतार, साउदी आरब र यूएई जाने नेपालीको संख्या शतप्रतिशत भन्दा बढीले कमी आएको थियो । अघिल्लो आवमा ३ लाख ६८ हजार ४ सय १३ वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा सो संख्या १ लाख ६६ हजार ३ सय ५ मा सीमित भएको छ । ३ वर्ष अघि यो संख्या ५ लाख ७ हजार ८ सय १७ थियो । विश्वव्यापी कोराना वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यालाई तुलना गर्दा खाडीका प्रमुख ३ देश कतार, साउदी अरब र युएई जाने नेपाली संख्या एक वर्षमा २ लाख ५७ हजार भन्दा कमी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्