Logo

चितवनमा एकै महिनामा दुई ठूला महोत्सव

भरतपुर-चितवनमा तीन ठूला महोत्सवहरु हुँदैछन् । चितवनका ७ मध्ये ४ वटा स्थानीय तहमा महोत्सव हुन लागेका हुन् ।
कालिका नगरपालिकाको पदमपुरमा बिहीबारदेखि ११ दिन चल्ने गरी प्रथम पदमपुर पर्यटन, सांस्कृतिक तथा व्यापारिक महोत्सव सुरु भएको छ । पदमपुरमा रहेको साङ्गे कज्युङ्ग गुम्बाले पदमपुर महोत्सवको आयोजना गरेको हो । महोत्सवमा १ सय स्टल छन् । स्थानीयस्तरमा उत्पादित वस्तु, कपडा, कस्मेटिक पसल र बालउद्यान रहेको मूल व्यवस्थापन समितिका संयोजक रन्जित कार्कीले जानकारी दिए ।
यस्तै भरतपुर महानगरको नारायणी नदी किनारमा चितवन उद्योग वाणिज्य संघको आयोजनमा पुस २५ गतेदेखि माघ ४ गतेसम्म १३ औं चितवन महोत्सव हुँदैछ ।
२०५३ सालदेखि हरेक दुई वर्षपछि हुँदै आएको चितवन महोत्सवमा यसवर्ष ३ सय ५० वटा स्टल रहनेछन् । विगतमा ५ सय ९० स्टल रहेका थिए । गत पुसमा हुनुपर्ने महोत्सव कोभिड–१९ का कारण १ वर्ष पछि धकेलिएको हो ।
वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठका अनुसार यसवर्षको महोत्सव आन्तरिक पर्यटन प्रवद्र्धनमा बढी केन्द्रीत हुनेछ । “पर्यटन सूचना केन्द्रमार्फत महोत्सव आउनेहरुले चितवनका गन्तव्यबारे जानकारी लिन सक्नेछन्” उनले भने, “टुर प्याकेज पनि बनाउने तयारी छ ।” महोत्सवमा कृषि, औद्योगिक, अटो, आइटी, इलेक्ट्रोनिक्स, पोल्ट्री, मेड इन नेपाललगायतका परिसरहरु रहनेछन् । महोत्सवको ५ लाखले अवलोकन गर्ने र करिब २५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
संघका अध्यक्ष राजु श्रेष्ठले महोत्सवले चितवनको अर्थतन्त्र चलायमान बनाउन सघाउने बताए । “गत वर्ष महोत्सव हुन नसकेपनि यसवर्ष हुँदैछ” उनले भने, “स्वदेशी तथा विदेशी सामग्रीको बजारीकरणमा महोत्सव उचित थलो बन्नेछ ।” रत्ननगर महोत्सवको ११ औं संस्करण यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म रत्ननगर नगरपालिका छेउको टिकौली चौरमा हुँदैछ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनमा हुने महोत्सवमा ३ सय ५० स्टल रहनेछन् ।
विगतमा ५ सय २१ स्टलहरु थिए । रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले रत्ननगर महोत्सव कृषि उत्पादन प्रवद्र्धनमा केन्द्रीत रहने बताए । “पूर्वी चितवन माछा, केरा, कुखुराका लागि परिचित छ, तरकारी उत्पादनको हब पनि हो” उनले भने, “कृषि उत्पादनको बजारीकरण गरिनेछ, फुड फेष्टिबल पनि समावेश गर्दैछौं ।” र
त्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार श्रेष्ठले महोत्सव करिब ४ लाखले अवलोकन गर्ने अपेक्षा लिइएको बताए । “अघिल्लो महोत्सव करिब साढे ४ लाखले अवलोकन गरेका थिए, महोत्सवभित्र करिब ५० करोडको कारोबार थियो”, उनले भने, “यसवर्ष स्टल संख्या घटाइएको भएपनि सोही हाराहारी अवलोकन गर्ने अपेक्षा गरेका छौं ।”
चितवन महोत्सव र रत्ननगर महोत्सव यसवर्ष एकै महिनामा पर्दा प्रदर्शक तथा अवलोकनकर्ता अन्यौलमा पर्ने देखिएको छ । चितवन महोत्सव २०५३ देखि र रत्ननगर महोत्सव २०५७ सालदेखि हुँदै आएका थिए । २०७३ सालदेखि उद्योग वाणिज्य संघ चितवनले विजोर वर्षमा र रत्ननगर उद्योग वाणिज्य संघले जोर वर्षमा महोत्सव गर्ने गरी भद्र सहमति भएको थियो । तर, यो वर्ष दुवै उद्योग वाणिज्य संघको आयोजनमा हुने महोत्सव एकै महिनामा हुँदैछन् ।
दुवै संघका अध्यक्षले आपसी सल्लाह अनुसारै महोत्सवको मिति तोकिएको दाबी गरेका छन् । चितवनका ठूला महोत्सव मानिएका चितवन महोत्सव र रत्ननगर महोत्सव वर्षेनि गर्न सकिने या नसकिने भनेर यो वर्ष परीक्षण गर्न लागिएको उनीहरुको दाबी छ ।
पछिल्लो पटक २०७५ मा चितवन महोत्सव र २०७६ मा रत्ननगर महोत्सव भएका थिए । यही पुस ३० गतेदेखि १० दिन चल्ने गरी आठौँ खिचरा महोत्सवको तयारीसमेत सुरु भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिकाको जबकौलीको गौचरनमा यसपाली पनि महोत्सव गर्ने तयारी छ । आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ का अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक चुडामणि चौधरीले महोत्सवको स्वीकृति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।
माघे संक्रान्तिका बेलामा थारु समुदायले मनाउने खिचरा पर्वलाई लक्षित गरी यो महोत्सव गरिँदै आएको छ । थारु समुदायले पकाउने परिकारको स्वाद लिने, थारुहरुको संस्कार, संस्कृति, औजार उपकरणहरु हेर्ने अवसर महोत्सवले दिँदै आएको उनले बताए । “२०७६ मा १ सय ५० स्टल थिए, यसपाली १ सय स्टल राख्ने योजना छ”, उनले भने, “हामी स्वीकृति लिने प्रक्रियामा छौं, थारु संस्कृति संरक्षण गर्ने महोत्सवको मुख्य लक्ष्य हो ।”

प्रतिक्रिया दिनुहोस्