कांग्रेसको चौधौं महाधिवेशन आजबाट «

कांग्रेसको चौधौं महाधिवेशन आजबाट

भोलीदेखि शुरुहुने नेपाली काग्रेसको १४ औं महाधिवेशनको लागि गेट वनाउदै कामदारहरु । तस्विर : प्रदीपराज वन्त,रासस


नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आज (शुक्रबार) काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन समारोह दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । यसका लागि तयारी पूरा भएको कांग्रेसले जनाएको छ ।
बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औंँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले १४ औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम राति १० बजेसम्म सकिने बताए । संयोजक पुडासैनीले मञ्च तीन चरणमा बनाइएको र पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः कलाकार, विभिन्न पार्टीको शीर्ष नेता र पार्टीका केन्द्रिय सदस्य रहने व्यवस्था गरिएको बताए ।
संयोजक पुडासैनीले प्रदर्शनी मार्गमा मात्र पार्टीको काम भएकोले अन्य सडकमा सर्वसाधारणहरुलाई ट्राफिक जाम भएर समस्या नपर्ने बताए । उनले पार्टीको महाधिवेशनमा ४ लाखसम्म मानिस सहभागी बन्ने पनि बताए ।
उता महाधिवेशन सुरु हुन केहि घण्टा मात्रै बाँकी रहदा समेत नेपाली कांग्रेसको कुन पदमा को को उमेदवार हुने भन्ने अन्योल कायमै रहेको छ । शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षबाट सभापतिमा देउवा नै उठ्ने करिब निश्चित भएपनि अन्य १२ पदमा भने को को उमेदवार हुने भन्ने टुंगो बिहीबार पनि लाग्न सकेन । २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि देउवा पक्षबाट करिब दुई दर्जन नेताहरु आकांक्षी देखिएका छन् । आकांक्षीको सूची लामो हुँदा देउवाले प्रदेशगत रुपमा मिलेर आउन र सूची बुझाउन गरेका थिए । तर, अहिलेसम्म प्रदेशहरुले सूची बुझाउन सकेका छैनन् ।
यता रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर पक्षले सभापतिको समेत साझा उम्मेदवार तय गर्न सकेको छैन । चार दिन यता लगातार छलफलमा जुटेपनि इतर पक्षबाट सभापतिको आकांक्षा राखेका तीन जना आफ्नो अडानमा कायम रहेपछि सभापतिको उम्मेदवार नै को हुने भन्ने अन्योलता देखिएको छ । पौडेलसँगै, प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिको उम्मेदवार आफू हुनुपर्ने दाबी गरिरहेका छन् । नेता प्रकाशमान सिंहले बिहीबार एक सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताए । कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीलाई विधिसम्मत्, नियमसम्म्त र संस्थागत रुपमा सञ्चालन गरी साँचो अर्थमा प्रजातान्त्रिक पार्टी बनाउनका लागि आफू सभापति उठ्न लागेको दाबी गरे ।
युवा नेताहरुले सहमति गरेर साझा उमेदवार छनोट गर्न दबाब दिँदै आएका छन् । उनीहरुले आपसमा लडाइँ गरेर देउवालाई सभापति बन्न सहज हुने वातावरण नबनाउन र पदाधिकारीका आकांक्षीलाई अन्योलमा नराख्न अपिल गरेका हुन् ।

केन्द्रीय समितिबाट ३ प्रतिवेदन पारित
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकबाट आर्थिक, सांगठनिकसहित ३ प्रतिवेदन पारित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पेस भएको महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन पारित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार उपसभापति नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन पनि बैठकबाट पारित भएको छ ।
बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको महाधिवेशनको तयारीलगायत विषयमा छलफल भएको जानकारी प्रवक्ता शर्माले दिए । उनले केन्द्रिय कार्यसमितिबाट पारित सबै प्रतिवेदन पार्टीको १४ औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने बताए ।
प्रवक्ता शर्माले भोलि शुक्रबार महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र यसलाई चुस्त र व्यवस्थितरुपमा सम्पन्न गर्नेगरी तयारी भएको जानकारी पनि दिए । महाधिवेशनमा भारतका राजनीतिक दलका प्रतिनिधि अतिथिका रुपमा सहभागी हुने निश्चित भएको उनले बताए । चौधौं महाधिवेशनअघि बिहीबार बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहसहित केहि नेताहरू सहभागी भएनन् । पौडेलसहितका नेता बैठकमा नआएपछि २ जना सहमहामन्त्री थप्ने प्रस्ताव तयार भएपनि बैठकमा पेश भएन ।


सकेसम्म सर्वसम्मत नेतृत्व चयन गरौं
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतीमा नेतृत्व चयन गर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवाले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने बताए । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौंमा विमोचन गर्दै उनले नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटूता र असहिष्णुता प्रर्दशन नगर्न पनि आग्रह गरे । प्रधानमन्त्री देउवाले महाधिवेशनलाई सफलताका साथ सम्पन्न गरेर गाउँघरमा फर्की कांग्रेसलाई आगामी आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक भविष्यका लागि समेत नेपाली कांग्रेसको १४ औं महाधिवेशन महत्वपूर्ण रहेको दावी गरे । कार्यक्रममा कांग्रेस सहमहामन्त्री एवम् लेखक महतले पुस्तक नेपाली कांग्रेसको आर्थिक नीति जान्न चाहनेका लागि उपयोगी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्