चुनावको तयारीमा लाग्न नेता–कार्यकर्तालाई सभापति देउवाको निर्देशन «

चुनावको तयारीमा लाग्न नेता–कार्यकर्तालाई सभापति देउवाको निर्देशन

सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह काठमाडौँ, ९ मङसिरः प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौँमा बिहीबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै । तस्बिरः रोशन सापकोटा÷रासस

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । बिहीवार नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनाव तर्फ केन्द्रीत हुन निर्देशन दिएका हुन् ।
उनले पार्टी भित्रको आन्तरिक चुनाव हुने हार, जित स्वभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रीत हुन आग्रह गरे । उनले भने, ‘महाधिवेशन लगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रीत हुनुपर्छ । हाम्रो आन्तरिक चुनावमा हुने जित, हार एउटा स्वभाविक प्रक्रिया हो । लोकतान्त्रिक अभ्यास हो ।
त्यसैले तपाईहरुले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रीत हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरे । उनले लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्