हुम्लाको नुन जुम्ला र सुर्खेतमा अलपत्र «

हुम्लाको नुन जुम्ला र सुर्खेतमा अलपत्र

सरकारले हुम्लाका लागि पठाएको नुन सुर्खेत र जुम्ला विमानस्थलमा अलपत्र परेको छ । नुनको हवाई ढुवानी गर्न साल्ट ट्रेडिङ कर्पोरेसनले ठेक्का दिए पनि ठेकेदारले ढुवानी नगर्दा सुर्खेत र जुम्ला विमानस्थलमै अलपत्र अवस्थामा पुगेको हो । सरकारले सहुलियत दरमा वितरण गर्न हुम्लाका लागि नुन छुट्याएको थियो । तर अहिले हुम्लामा पुग्नुपर्ने नुन विमानस्थलमै घाम र पानीले सड्ने अवस्थामा पुगेको छ ।
आर्थिक वर्ष २०७४-७५ मा ढुवानी गरिनुपर्ने नुन जिल्लामा नपुग्दै काम नलाग्ने अवस्था पुग्नु ठेकेदारको लापरवाही भएको स्थानीयको आरोप छ । हुम्लाका लागि ४ हजार क्वीन्टल नुन ८ हजार १५ रूपैयाँ प्रतिक्वीन्टल ठेक्का लगेको निर कार्गो सर्भिसका सञ्चालक निर्मला महतले ढुवानी गर्न नसक्दा वेवारिसे भएको हो । ठेकेदारले २ हजार क्वीन्टल नुन मात्र जिल्लामा ढुवानी गरेको साल्ट ट्रेडिङ कर्पोरेसन हुम्लाका प्रमुख राजबहादुर लामाले बताए । सस्तोमा नुन ढुवानी गर्न १ हजार क्वीन्टल जुम्लामा पुरायाइएको भए पनि त्यो पनि बेवारिसे नै छ । १ हजार क्वीन्टल नुन भने सुर्खेतमा वेवारिसे अवस्थामा छ ।
सरकारले हुम्लालगायत अन्य दुर्गम जिल्लामा सहुलियत दरमा भानु ब्राण्डको नुन बिक्री वितरण गर्दै आएको छ । हुम्लामा प्रतिकिलो ९ रूपैयाँमा नुन बिक्री गर्ने गरेको टे«डिङ कर्पोरेसनले जनाएको छ । हुम्लाका श्रीनगर, सर्केगाड, हिल्सा र सिमिकोटबाट नुन बिक्रीवितरण हुँदै आएको छ । कर्पोरेसनले चीनको सिमा रहेको हिल्सा नाकाबाट ढिके नुनमा आयोडिन मिसाएरसमेत बिक्री गर्दै आएको छ ।
ठेकेदारले ठेक्काको पुरा भुक्तानी लिन ९५ प्रतिशत नुनको ढुवानी गर्नुपर्ने हुन्छ । तर, ठेकेदार महतले नुनमा घाटा हुने र हवाई भाडा महँगो भएको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयमार्फत सिफारिस बनाएर साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रीय कार्यालयमा निर्णयका लागि पठाएर नुनको सबै बक्यौता धरौटीबाट मिनाहा गर्ने गरी ठेक्का सम्पन्न गराइसकेका छन् । २ हजार क्वीन्टल नुन ढुवानी भइसकेको र बाँकी २ हजार क्वीन्टललाई ल्याब परीक्षण गरी फिर्ता लिन कर्पोरेसन तयार भएको नेपाल साल्ट टे«डिङ कर्पोरेसन क्षेत्रिय कार्यालय नेपालगन्जका प्रमुख मनोज चौधरीले बताए ।
ठेकेदारले नुनलाई कार्यालयबाट किनेर लगिसकेको तर हुम्लामा पुगेपछि मात्र सोको ढुवानी दाबी गर्न सक्ने प्रावधान भएको चौधरीले बताए । आयोडिनयुक्त नुनको समयावधी २ वर्षको हुने र आयोडिन उडेर नगएमा यसको पुःन प्रयोग गर्न मिल्नेसमेत चौधरीको भनाई छ । नेपाल सरकारले हरेक वर्ष हवाई र स्थलमार्गबाट नुनको ढुवानी गर्ने गरेको भए पनि ठेकेदारले बेलैमा ढुवानी गर्न नसक्दा उपभोक्तालाई बेला–बेलामा समस्या पर्ने गरेको चौधरीले बताए ।
ठेकेदारले आफ्नो फाईदा अनुकूल काम गर्ने गरेको र सर्वसाधरणलाई नुनको जहिले पनि अभाव हुने गरेको स्थानीय बताउँछन् । सिमिकोट गाउँपालिका–५ का सुन्दर रावतले हुम्लाको नुन जुम्ला र नेपालगन्जमा वेवारिसे हुनु तर हुम्लीले चाहेको नुन प्राप्त गर्न नसक्नु दुर्भाग्य भएको बताए । हुम्लाको सिमिकोट गाउँपालिका र आसपासका वासिन्दालाई नुनको अभाव नभए पनि अन्य ६ गाउँपालिकामा चरम अभाव छ ।
जिल्लाका विभिन्न भागबाट नुनको वितरण गर्ने भनिए पनि अहिले आवश्यकताअनुसार नुन पाउन नसक्दा उपभोक्ताले सिमिकोट शाखाबाट मात्र नुन खरिद गर्नुपरेको छ । अदानचुली गाउँपालिकाकी खड्क ऐडीले श्रीनगरबाट नुन नपाएपछि आफूले ६ दिन लगाएर सिमिकोटबाट नुन लिनु परेको बताइन् । सर्केगाड गाउँपालिका–८ का नरी ऐडीले स्थानीय स्तरमा नुन नपाएपछि आफूले भेडाबाख्रालाई बोलाएर चीनको ताक्लाकोटबाट ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्