Logo

अब राजेन्द्र लिङ्देनको पालो : राणा

राप्रपाका नेता तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले पार्टीले लिएको एजेण्डा सही हुँदाहुँदै पनि नेतृत्व सही नभएकोले आफूहरुले यसपटकको एकता महाधिवेशनमा युवा नेतृत्व ल्याउन लागेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राणाले पार्टीले सही एजेण्डा बोक्दाबोक्दै पनि आज उचित राजनीतिक स्थान नपाएको अवस्था सुनाए ।
उनले अध्यक्ष कमल थापा आफ्नो आदरणीय नेता भएको बताए । तर, थापा परीक्षण भैसकेकाले अब नेतृत्वमा दोहो-याउन नहुने उनको भनाइ छ । भने, ‘उहाँ टाइम टेस्ट भैसक्नुभयो । राप्रपा नेपालको ग्राफ राम्रो हुँदा उहाँको पनि राम्रो थियो । तर, अहिले उहाँको ग्राफ राम्रो छैन । अहिले राजेन्द्र लिङ्देनको ग्राफ माथि उठ्दैछ । उहाँ लोकप्रिय सांसदको रुपमा परिचित हुनुहुन्छ, लिम्बुको छोराले हिन्दूराष्ट्र र राजासहितको प्रजातन्त्र बोकेर हिँड्नुभएको छ, यसमा हामीले गर्व गर्छौं । कमल थापालाई जनताले पछ्याउने अवस्था छैन ।’
उनले पार्टीको एजेण्डालाई जस्ताको त्यस्तै राखेर पार्टी सञ्चालन गर्ने शैलीलाई आमूत परिवर्तन गर्नुपर्ने भएकोले आफूहरु नेतृत्वको लागि मैदानमा आएको स्पष्ट पारे । उनले पार्टी अघि बढाउनको लागि आफूहरुले सही नीति र योजना लिएको र त्यसलाई लागु गर्ने सुनाए । उनले आफूले महामन्त्री जित्ने आधार स्पष्ट रहेको सुनाए । उनले आगामी निर्वाचनमा राप्रपालाई देशको पहिलो शक्ति बनाउनेगरि अघि बढिरहेको पनि बताए । उनले नेपालमा संघीयता, गणतन्त्र र अहिलेको व्यवस्था नै असफल भैसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्