Logo

विद्यालयको खाली जग्गामा चिया खेती

कालिञ्चोक गाउँपालिका–९ कटुवाचौरमा चिया खेती सुरु भएको छ । चिया पकेट क्षेत्र बनाउने उद्देश्यले दोलखाको कालिञ्चोक गाउँपालिकामा पहिलो पटक सुन्द्रावतीको कटुवाचौरमा चिया खेती सुरु गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर ९ लाई चिया पकेट क्षेत्र बनाउने उद्देश्यका साथ कालिका माध्यमिक विद्यालयको ३० रोपनी खाली जग्गामा जग्गामा चिया खेती सुरु गरिएको हो । कटुवाचौर बजार छेऊमै रहेको जग्गा खाली भएकाले सबैले देख्ने ठाउँमा गत साउन र भदौमा चियाको विरुवा रोपिएको कालिञ्चोक गाउँपालिका–९ का वडा अध्यक्ष रामप्रसाद मैनालीले जानकारी दिए ।
चियाको विरुवा इलामबाट ल्याएको हो । चिया खेतीका लागि गत आर्थिक वर्ष २०७४÷७५ को बजेटबाट ५ लाख खर्च गरेको छ । यसबाट २० हजार विरुवा रोपिएको उनले जानकारी दिए । अहिले सबै गाउँपालिकाको लगानी र रेखदेख भए तापनि यो विद्यालयकै सम्पत्ती भएको उनले बताए । चियाले आम्दानी दिने भएपछि विद्यालयको राम्रै आन्तरिक आम्दानीको स्रोत बन्ने वडा अध्यक्ष मैनालीले बताए ।
चियाका विरुवा रापेपछि हेरचाहका लागि ३ जना कामदार राखिएको छ । झातपात निकाल्ने, मल हाल्ने, संरक्षण गर्ने र सुख्खा समयमा पानी हाल्ने उनीहरूको जिम्मेवारी छ । यसको राम्रै प्रतिक्रिया आएकाले विद्यालयको नाममा रहेको थप २० रोपनी जग्गामा आउँदो असारमा चिया नै रोप्ने योजना छ । सिँचाइका लागि अहिले पानीको पनि व्यवस्थापन गरेको छ ।
कटुवाचौरकै नजिकै नर्सरी पनि राखिएको छ । वडाको आफ्नै बजेटबाट नर्सरी स्थापना गरिएको हो । चिया रोप्न इच्छुक किसानलाई निःशुल्क विरुवा वितरण गर्ने गाउँपालिकाको योजना छ । खेती गर्न छाडेर खेतबारी बाँझो हुँदै चिन्ताको विषय हुँदै गएकाले विकल्पको रूपमा गाउँपालिकाले चियालाई पनि अघि सारेको छ ।
अहिले सुन्द्रावतीको नर्सरीमा ४ लाख बढी विरुवा हुर्कदै छन् । केही वर्षमा सुन्द्रावती चियाको पकेट क्षेत्र हुने कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले बताइन् । स्थानीय आयआर्जनका लागि गाउँपालिका भित्रको एक वडा एक कार्यक्रम सुरु भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्